तत्काल सत्ता गठबन्धन टुट्दैन : सांसद रामहरि खतिवडा
जेठ २७, २०८० । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद रामहरि खतिवडाले तत्काल सत्ता गठबन्धन नटुट्ने बताएका छन् । उनले भविष्यमा हिजो लोकतन्त्रको लागि सँगै लडेको एमालेसँग सहकार्य भने हुनसक्ने विश्वास दिलाए ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता खतिवडाले देश बनाउने अभियानमा सबै दलहरु एकमत भएर अघि बढ्नुपर्ने आवश्यकत्ता औंल्याए । उनले भने,‘अरुलाई आलोचना गरेर मुलुक निर्माण हुन्छ भन्ने विश्वास मलाई छैन् ।’
नेता खतिवडाले मुलुक भ्रष्टाचारबाट व्याप्त भएको भन्दै यसको लागि सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए । उनले भने,‘हामीलाई पनि लागेको छ, भ्रष्टाचार भनेको मेरो र तेरो भनेर छुट्याउने कुरा होईन । यो लेनदेनमात्रै होईन, यो आचरणको पनि कुरा हो । चर्चामा आएका कुराहरु जो छन्, नक्कली भुटानी शरणार्थी प्रकरणकै कुरा छ, नेपाली कांग्रेसले निश्पक्ष छानबिनको लागि अनुरोध गरेको छ । हाम्रो प्रष्ट मान्यता के हो भने–कोही निर्दोष फस्नुहुँदैन अनि दोषी उम्कनुहुँदैन् ।’
उनले अहिले देश बनाउने अभिभारा युवा पुस्ताको काँधमा आएको सुनाए । उनले भने,‘जनताले युवा पुस्तासँग आश गरेका छन् । राजनीतिमा आउँदा खासगरी पार्लियोमेन्टमा बोल्दा एउटा कुरा, अनि टिभीमा अर्को कुरा गर्ने, जनतासँग जाँदा एउटा अनि नेतासँग अर्को कुरा गर्ने गरेको पनि पाईयो । यो कुरा जनताले नजिकबाट नियाँलिरहेका छन् ।’ उनको उक्त अभिव्यक्ति रास्वपालक्षित थियो । खतिवडाले थपे–‘अहिले कोर टिमका कुरा पनि आएका छन् । त्यसबारेमा पनि छानबिन हुनुपर्छ । राष्ट्रिय परिचयपत्रको कुरा आएको छ, तत्कालिन गृहमन्त्रीले टेण्डर गरे, अहिलेका गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्यो टेण्डर रद्द गरेको कुरा छ । उहाँले त्यो टेण्डर किन रद्द गर्नुभयो भन्नेबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्छ ।’
नेता खतिवडाले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सफल नै भएको दाबी गरे । उनले भारत भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले गेरु वस्त्र पहिरिने काम गरेको तर कुनै ठूला सन्धी र सम्झौता भएनन् भनेर चर्चा भएपनि १० वर्षमा १० हजार मेगावाट विद्युत किन्ने सम्झौता हुनु ठूलो उपलब्धि र खुशीको विषय भएको उल्लेख गरे । उनले भने,‘मलाई एउटा खुशीको कुरा यो भ्रमणमा के लागेको छ भने जुन १० हजार मेगावाट विद्युत भारतले १० वर्षमा लिने सहमतिको वातावरण सिर्जना भयो, यो नेपालको लागि राम्रो काम हो ।

