अखवार

अब नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश

Sharing is caring!

फागुन १५, २०७५ । नेपालमा बोलिने १२३ भाषाकै शब्दकोश बन्ने भएको छ। लोप हुन लागेकाबाट भाषा आयोगले काम थालेको छ। २९ अति लोपोन्मुख र ३७ वटा लोपोन्मुख छन्। ‘हामीले केही भाषाको शब्दकोश निर्माण गरिसकेका छौं’, आयोग अध्यक्ष डा. लवदेव अवस्थीले भने, ‘हरेक वर्ष १० देखि १५ भाषाको शब्दकोश निर्माण गर्ने योजना छ।’

जेरुङ, चाम्लिङ, साम्पाङ, बेलहारे, लेप्चा, आठपहरिया, कुसुन्डा र स्युवाको शब्दकोश बनाइएको छ। लिङखिम, बज्जिका, छन्त्याल, सन्थाल, भोटे, शेर्पामा काम भइरहेको अधिकृत मनोज पौड्यालले बताए। गत वर्ष हायू, सुरेल, साम्पाङ, बेलहारे, जेरुङ, बोटे, दराई, राउटे, दुरा, कुमाल, ल्होमी, कुसुन्डा, किसान, राजी, व्यासी, राजवंशी, तिलुङ, उराव, सोनाहा, दनुवार, जुम्ली, मेचे, मगहीका शब्द संकलन गरिएको थियो। आयोगले यो वर्ष थप ६ भाषाको शब्द संकलन गरेको छ। हायू, सुरेल, साम्पाङ, बेलहारे, व्यासी, राजवंशी, तिलुङ, उराव (कुडुख), सोनाहा, दनुवार, जुम्ली, मेचे, भोजपुरी, स्युवा, मगही, याक्खा, छन्त्याल, थकालीको वर्णनिर्धारण, शब्द संकलन, भाषिक इतिहास लेखनजस्ता कार्य सम्पन्न भइसकेको छ।

‘नगरी नहुने काम हो तर कसरी गर्ने भन्नेमा हामी अलमलमा थियौं’, अध्यक्ष अवस्थीले भने, ‘भाषाशास्त्रीले नयाँ उपाय सुझाए। त्यहीअनुरूप काम अघि बढायौं।’ भाषा संरक्षण, विद्यालयमा पठनपाठन र शोध–अनुसन्धानमा सघाउन काम अघि बढाइएको उनको भनाइ छ।

स्थानीय तहसँगको समन्वयमा काम गर्न आयोगले विज्ञ समूह गठन गर्छ। व्याकरण निर्माण र शब्द संकलनका लागि ३ लाख बजेट आयोगले उपलब्ध गराउँछ। समूहले ३ हजारदेखि ५ हजारसम्म शब्द संकलन गर्नुपर्छ। ‘चलनचल्तीमा आएका सबै शब्द खोज्नुपर्छ’, अधिकृत पौडेलले भने, ‘तर, कतिपय भाषामा थोरै मात्र आफ्नो भाषाबाट र अन्य नेपाली बोल्ने गरेको पाइयो।’

कुसुन्डाका २५ सय शब्द

संसारमा चार भाषा परिवार छन्, भारोपेली, भोटबर्मेली, द्रविड र आग्नेय। कुसुन्डा यी चारै परिवारसँग मेल खाँदैन। यसको शब्दकोश चार वर्ष लगाएर उदय आलेले बनाएका छन्। ‘जंगली जीवनमा ३ सय शब्दले काम चलाइरहेका पनि छन्’, उनले भने, ‘शोध गर्दा २ हजार ५ सय शब्द संकलन भयो।’ उनका अनुसार कृषि, वन, जनावरका नाम, शरीरका अंग, मानवीय संवेदना प्रकट गर्न उनीहरूले आफ्नो शब्द प्रयोग गर्छन्। ‘अरू नेपाली शब्दलाई सापटी लिएको पाइयो’, उनले भने।

लेख्य परम्परामा कति भाषा छन् भन्ने तथ्यांक नरहेको भाषाशास्त्री प्रा.डा. माधवप्रसाद पोखरेल बताउँछन्। उनका अनुसार ६४ भाषाको वर्णमाला छ। ‘आयोगले थालेको शब्दकोश निर्माण सकारात्मक कदम हो’, उनी भन्छन्, ‘यसलाई बृहत् रूप दिन सक्नुपर्छ। यसले लोपोन्मुख भाषाका वक्ता बढाउन तथा ती भाषा अनुसन्धानमा सहयोग पुग्नेछ।’

एक भाषाशास्त्रीका अनुसार ६५ भाषाको व्याकरण निर्माण तथा शब्द संकलन भएको छ। कति भाषामा शब्दकोश छन् भनेर नेपाल प्रज्ञा– प्रतिष्ठानले खोज्न थालेको उनले सुनाए।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *