अब कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने: मन्त्री बिष्ट
साउन ३०, २०७५ । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले केही समयभित्रै रोजगारीका लागि कतार जान एक रुपैयाँ पनि तिर्नु नपर्ने वातावरण तयार हुने बताएका छन् ।
मन्त्री विष्टले युवालाई स्वदेशमै रोजगारीको वातावरण श्रृजना गर्ने प्रतिवद्धता व्यक्त गरे । संसदको एक समितिमा मन्त्री विष्टले एक लाख युवालाई रोजगारी दिने गरि कार्यक्रम ल्याउने जानकारी गराए ।
आज संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री विष्टले सरकारको नयाँ नीति कार्यक्रम प्रस्तुत गरेका थिए । उनले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत नेपालको श्रमशक्तिलाई कृषि, खानी तथा उद्योगमा १ लाख युवा दक्ष जनशक्ति बनाउने र रोजगारी दिने बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले नेपालमा सम्भावनाका ढोका खोल्ने विश्वास लिइएको मन्त्री विष्टले बताए । उनले युवाको रोजगारी नै सरकारको प्रमुख लक्ष्य भएको बताए । बैठकमा समितिका सदस्यहरुले सरकारले कार्यान्वयनमा जोड दिनुपर्ने बताएका थिए । उनीहरुले अझै पनि बिदेशी श्रम बजारमा ४३ लाख जनशक्तिले जोखिमपूर्ण काम गर्ने गरेको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
यस अघि सरकारले बेरोजगार युवालाई ५ महिनाका लागि रोजगारी दिने नीति ल्याएको थियो ।

