Headlineदेश

आज विश्व रक्तदाता दिवस : विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइदै

Sharing is caring!

जेठ ३१, २०८२ । हरेक वर्ष जुन १४ का दिन मनाइने विश्व रक्तदाता दिवस आज नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमका साथ मनाइँदैछ। सुरक्षित रगतको आवश्यकताबारे जनचेतना जगाउने उद्देश्यसहित मनाइने यो दिवसमा सक्रिय रक्तदाताप्रति आभार प्रकट गरिन्छ।

मानव शरीरमा रहेका विभिन्न रगत समूहको पहिचान गर्ने अष्ट्रियन वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिनको अवसर पारेर यो दिवस मनाइने गरिएको हो। सन् १९०० मा उनले रगतका विभिन्न समूह पत्ता लगाएका थिए, जसले चिकित्सा क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको थियो।

यस वर्ष “नियमितरूपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ” भन्ने नाराका साथ दिवस मनाइँदैछ। स्वास्थ्य मापदण्डअनुसार १८ देखि ६० वर्ष उमेर समूहका व्यक्तिले, कम्तीमा ५० के.जी. तौल भएमा, हरेक ३ महिनामा एकपटक रक्तदान गर्न सक्ने जनाइएको छ।

विशेषगरी दुर्घटना, अपरेशन, प्रसूति वा आकस्मिक अवस्थाहरूमा रगतको अत्यधिक आवश्यकता पर्छ। यस्तो अवस्थामा रगतको कुनै विकल्प हुँदैन। नियमित र समयमै गरिएको रक्तदानले कसैको जीवन बचाउन सक्छ।

रगत शरीरको सबै भागमा अति आवश्यक पोषक तत्त्वहरू पुर्‍याउने, तापक्रम सन्तुलन राख्ने, रोगसँग लड्ने क्षमता बढाउने महत्वपूर्ण जैविक तत्व हो। रगत बिना जीवनको कल्पना सम्भव छैन।

रक्तदाताहरूको योगदानको सम्मानस्वरूप नेपालमा २०७० साल जेठ ३० र ३१ गते पहिलो रक्तदाता सम्मेलनसमेत आयोजना गरिएको थियो। त्यसपछि रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि हुँदै आएको छ।

विशेषज्ञहरूका अनुसार रक्तदान स्वास्थ्यका लागि पनि लाभदायक हुन्छ। नियमित रक्तदानले शरीरमा नयाँ रगत उत्पादनलाई प्रोत्साहन गर्छ, साथै समाजप्रति सकारात्मक जिम्मेवारीको बोध गराउँछ।

रगत दान गर्नु केवल दायित्व होइन, जीवन बचाउने पुण्य कार्य पनि हो। त्यसैले, सबैले नियमित रूपमा र सर्तकतापूर्वक रक्तदान गर्नुपर्ने आवश्यकता आजको दिनले झनै स्मरण गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *