विश्व बैंकबाट नेपाललाई २५ करोड ७० लाख डलर ऋण
जेठ १९, २०८२ । विश्व बैंकले नेपालका दुई महत्वपूर्ण विकास परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबरको ऋण सुविधा स्वीकृत गरेको छ । विश्व बैंक निर्देशक समितिको मे २९ मा बसेको बैठकले यो ऋण स्वीकृत गरेको हो । बैंकले आज (सोमबार) एक प्रेस विज्ञप्तिमार्फत् उक्त जानकारी दिएको छ ।
स्वीकृत ऋणमध्ये विद्युत् आपूर्ति प्रणाली सुधारका लागि १२ करोड अमेरिकी डलर र रानी जमरा कुलरिया सिँचाइ आयोजना ९फेज–३० का लागि १३ करोड ७० लाख अमेरिकी डलर विनियोजन गरिएको छ ।
विद्युत् आपूर्ति प्रणाली सुधारमा १२ करोड डलर
नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चालन हुने विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाले देशका चारवटा प्रदेश—कोशी, बागमती, कर्णाली र सुदूरपश्चिममा विद्युत् वितरण सञ्जाललाई सुदृढ र भरपर्दो बनाउनेछ ।
यस परियोजनाले नयाँ सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा निगरानीका लागि आधुनिक स्वचालित प्रणाली विकास गर्ने लक्ष्य राखेको छ। यो परियोजना कार्यान्वयनमा आएपछि ती क्षेत्रका उपभोक्ताहरूले बढी विश्वसनीय र स्थिर विद्युत् सेवा पाउने अपेक्षा गरिएको छ ।
सिंचाइ परियोजनामा १३ करोड ७० लाख डलर
सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा सञ्चालन हुने रानी जमरा कुलरिया सिँचाइ आयोजना ९फेज–३० का लागि १३ करोड ७० लाख डलर ऋण प्रदान गरिएको हो ।
यस आयोजनाले थप १७ हजार ५०० हेक्टर जमिनमा वर्षैभरि सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ । वर्षभर सिँचाइ सुविधा उपलब्ध भएपछि कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने आशा गरिएको छ ।
विश्व बैंकका अनुसार, उक्त परियोजनाबाट करिब एक लाख ६० हजार जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले खाद्य सुरक्षामा टेवा पुर्याउनुका साथै स्थानीय अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
दिगो विकासतर्फको कदम
विश्व बैंकका नेपालस्थित देशीय निर्देशक फरिस हदाद जर्भोसले भने, “नेपालले ऊर्जा तथा कृषि क्षेत्रको सुधारमार्फत दिगो आर्थिक वृद्धिको दिशा समात्दैछ। यी परियोजनाहरूले जलवायु लचिलोपन बढाउनुका साथै आम नागरिकका जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउनेछन् ।”
सरकारको ऊर्जा र कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका प्रयासहरूसँग सहकार्य गर्दै विश्व बैंकले पछिल्ला वर्षहरूमा पनि ठूला पूर्वाधार परियोजनामा लगानी बढाउँदै आएको छ ।

