देश

आज विश्व अटिजम जागरूकता दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै

Sharing is caring!

चैत २०,२०८१ । अटिजम भएका व्यक्तिहरूप्रति समाजलाई संवेदनशील बनाउन तथा उनीहरूको हक-अधिकार सुनिश्चित गर्न प्रत्येक वर्ष अप्रिल २ मा ‘विश्व अटिजम जागरूकता दिवस’ मनाइन्छ। नेपालमा पनि यस दिवसलाई विभिन्न चेतनामूलक कार्यक्रमसहित मनाइँदैछ।

अटिजम एक न्युरो-डिभर्सिटीसम्बन्धी अवस्था हो, जसले व्यक्तिको सामाजिक अन्तरक्रिया, सञ्चार शैली, व्यवहार तथा रुचिमा फरक ल्याउने गर्छ। अटिजम भएका व्यक्तिहरूले समाजमा भिन्न तरिकाले प्रतिक्रिया जनाउने हुँदा उनीहरूको उचित पहिचान, शिक्षामा पहुँच तथा सामाजिक सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको विज्ञहरू बताउँछन्।

नेपालमा अटिजमसम्बन्धी सचेतना अभिवृद्धि गर्न विभिन्न संघसंस्थाहरू सक्रिय छन्। अटिजम नेपाल, प्यासिफिक एडभोकेसी ग्रुप, नेशनल एसोसिएसन अफ पेरेन्ट्स अफ चिल्ड्रेन विद अटिजमलगायत संस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गरेका छन्। यस वर्ष ‘समावेशी समाज निर्माणमा हाम्रो भूमिका’ भन्ने नाराका साथ राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा ¥याली, गोष्ठी, अभिभावक प्रशिक्षण, खुला छलफल तथा कार्यशाला सञ्चालन गरिँदैछ।

संयुक्त राष्ट्रसंघले यस दिवसको अवसरमा जारी सन्देशमा अटिजम भएका व्यक्तिहरूका लागि शिक्षाका अवसरहरू विस्तार गर्नुपर्ने, रोजगारीका अवसर सिर्जना गर्नुपर्ने तथा उनीहरूलाई आत्मनिर्भर बनाउन विशेष नीति आवश्यक रहेको उल्लेख गरेको छ। विश्वभरका विभिन्न देशहरूमा सचेतना अभियान, कला प्रदर्शनी, गोष्ठी तथा परामर्श सेवा उपलब्ध गराउने कार्यक्रमहरू आयोजना गरिएको छ।

अटिजम भएका व्यक्तिहरूलाई समाजमा उचित स्थान दिलाउन सरकार, गैरसरकारी संस्था तथा समुदायको विशेष सहयोग आवश्यक रहेको विज्ञहरू बताउँछन्। उनीहरूको क्षमता उजागर गर्न, आत्मनिर्भर बनाउन तथा जीवन सहज बनाउन सकारात्मक सोच र समावेशी नीति आवश्यक छ। आजको दिनले सबैलाई अटिजमबारे बुझ्न, सचेतना बढाउन तथा उनीहरूलाई साथ दिन प्रेरित गर्ने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *