अखवार

साउदीमा छापा मार्दा २० हजारबढी अवैध कामदार पक्राउ

Sharing is caring!


भदौ १७, २०८१ । साउदीमा छापा मार्दा २० हजारबढी कामदार पक्राउ परेका छन् । साउदीको आन्तरिक मन्त्रालयले गत साता साउदी अरेबियाका सबै क्षेत्रहरूमा छापा मार्दा २० हजार ७ सय १८ अवैध कामदारलाई पक्राउ गरेको जनाएको छ ।

२२ देखि २८ अगस्टसम्मको अवधिमा सुरक्षा निकाय र सम्बन्धित सरकारी निकायले गरेको संयुक्त क्षेत्रीय सुरक्षा अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा रेसिडेन्सी ऐन उल्लंघन गर्ने १३ हजार २ सय ४८, सीमा सुरक्षा ऐन उल्लंघन गर्ने ४ हजार ६ सय ८८ र श्रम कानुन उल्लंघन गर्ने २ हजार ७ सय ८२ जना रहेका छन् ।

सीमा पार गरेर अधिराज्य प्रवेश गर्ने क्रममा पक्राउ परेका कुल ७ सय ४४ जना रहेका छन्, जसमध्ये ३७ प्रतिशत यमनी, ६२ प्रतिशत इथियोपियाली र १ प्रतिशत अन्य राष्ट्रका नागरिक रहेका छन् भने ६९ जना बाहिरिन खोज्दा पक्राउ परेको मन्त्रालयले जनाएको छ ।

अवैध कामदारलाई ओसारपसार गर्ने, आश्रय दिने र रोजगारी दिने १६ जनालाई पनि पक्राउ गरिएको मन्त्रालयले जनाएको छ । १३ हजार ५ सय ३२ पुरुष र १ हजार १ सय २ महिला गरी कुल १४ हजार ६ सय ३४ आप्रवासीविरुद्ध दण्डात्मक कारबाही गरिएको जनाइएको छ ।

कुल ५ हजार ३ सय ६१ उल्लंघनकारीलाई आफ्नो कूटनीतिक नियोगमा यात्रा कागजात लिन पठाइएको छ भने १ हजार ९ सय ८२ उल्लंघनकारीलाई यात्रा आरक्षण पूरा गर्न पठाइएको जनाइएको छ । कानुन उल्लंघन गर्ने १२ हजार ४ सय १० जनालाई देश निकाला गरिएको मन्त्रालयले जनाएको छ ।

साउदीमा कानुन उलंघन गर्नेलाई १५ वर्षसम्मको जेल सजाय, १० लाख रियालसम्मको जरिमाना र यी अपराधमा प्रयोग हुने सवारीसाधन र सम्पत्ति जफत गर्ने व्यवस्था छ । साउदी सरकारले कानुन उल्लंघन गर्नेहरूलाई पक्राउ गरी कानुनी कारबाही गर्ने कार्य तीव्र रूपमा अघि बढाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरी धडपकड अभियान तीव्र पारेसँगै गैरकानुनी रूपमा त्यहाँ कार्यरत सयौं नेपाली पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको छ । साथै, जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ । हाल साउदीमा ६ सय १५ नेपालीले जेलजीवन बिताइरहेका छन् ।

अवैध रूपमा बसेका १ सय ४६ नेपालीलाई एक्जिट भिसा
साउदीमा गैरकानुनी रूपमा बसोबास गर्दै आएका १ सय ४६ जना नेपालीले ‘एक्जिट भिसा’ ९बहिर्गमन भिसा० पाएका छन् । रियादस्थित दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र ९इकामा० नबनाइएका वा नवीकरण नगरिएका वा हुरुब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो ।

गैरकानुनी रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनुपरे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।

साउदीमा कार्यरत नेपालीहरूमा आवासीय अनुमतिपत्र (इकामा) नबनाएका तथा नवीकरण नगरेकाहरूलाई स्वदेश फर्किन बहिर्गमन भिसा आवश्यक पर्छ । त्यसका लागि आवश्यक कागजातसहित दूतावासमा सम्पर्क गर्नुपर्छ । साउदीमा विभिन्न पेसामा गरी करिब ५ लाखको हाराहारीमा नेपाली कामदार कार्यरत छन् । यो खबर राजधानीबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *