समाचार

सूचना प्रविधिको विकाससँगै भ्रष्टाचार जटिल बन्दै गएको राष्ट्रपति पौडेलको धारणा

Sharing is caring!

माघ २८, २०८१ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा जटिलता थपिएको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका प्रकृति र स्वरूप परिवर्तन भइरहेकाले अनुसन्धान तथा अभियोजन प्रक्रियालाई आधुनिक बनाउनुपर्ने आवश्यकता रहेको बताए।

उनले भने, सत्ता प्राप्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र जिम्मेवारीको दुरुपयोग गरी भ्रष्टाचारलाई बढावा दिने उल्लेख गर्दै प्रविधिको दुरुपयोगले अनियमितता थप जटिल बनाएको बताए। उनले अनुसन्धान प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणका लागि कठोर कदम चाल्नुपर्ने धारणा राखे।

उनले भने, “सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउन सकिँदैन। नागरिकको जीवनस्तर सुधार गर्दै अन्तर्राष्ट्रिय छविलाई मजबुत बनाउन सदाचार, निष्पक्षता र पारदर्शिता नै मूलमन्त्र हुनुपर्छ।”

त्यस्तै, उनले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा समस्या आएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए। नेपाल भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धिको पक्षधर भएकाले सोही अनुरूप कानुनी सुधार आवश्यक रहेको बताए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि आयोगले विभिन्न रणनीतिहरू अपनाइरहेको बताए। नागरिकको चासो र सरोकारलाई सम्बोधन गर्दै सरकारको नेतृत्वमा विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको धारणा थियो।

राष्ट्रपति पौडेलले भ्रष्टाचार नियन्त्रणको प्रयासलाई प्रभावकारी बनाउँदै आम नागरिकमा कानूनको पालना गर्ने संस्कार विकसित गराउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *