Headlineसमाचार

रवि लामिछानेप्रति गरिएको व्यवहारमा श्रीमती निकिताको आक्रोश : ‘यही हो न्याय ? यही हो सरकार ?’

Sharing is caring!

असार ७, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध लागेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले आज सामाजिक सञ्जालमार्फत गहिरो असन्तुष्टि जनाएकी छन् । लामिछानेमाथि राज्यद्वारा योजनाबद्ध ढंगले अन्याय भइरहेको आरोप लगाउँदै उनले न्याय, सरकार र प्रणालीप्रति आक्रोश पोखेकी हुन्।

‘यो देशको भाग्य र भविष्य बदल्छु भनेर आएका रविहरु यसरी षड्यन्त्रको सिकार हुने हो भने म जस्ता निकिताहरुले भविष्यका रविहरुलाई टिका लगाएर राजनीति गर्न किन पठाउने ?’ उनले प्रश्न गर्दै लेखेकी छन्, ‘आज असार ७, पार्टी जन्मिएको दिन। तर तेस्रो वर्षमा आइपुग्दा जन्मदातालाई कालकोठरीमा थुनिएको छ।’

पौडेलले रवि लामिछाने कुनै पनि सहकारीका संचालक, सदस्य वा कर्मचारी नभएको दाबी गर्दै उनले न कसैको पैसा खाएको, न सम्पत्ति शुद्धिकरणको अपराध गरेको बताएकी छन्। ‘मेरो व्यवसायको नाममा रहेको सम्पत्तिलाई कसरी मुद्दामा जोडिएको ? प्रमाण देखाउनुस्,’ भन्दै उनले भनेकी छन्, ‘म यहीँ छु, मलाई देखाउनुहोस्।’

उनको भनाइमा रविलाई जबर्जस्ती विभिन्न शीर्षकमा आरोप लगाइएका छन् — कहिले ठगी, कहिले सहकारी ठगी, कहिले संगठित अपराध त कहिले सम्पत्ति शुद्धिकरण । तर, उनले सो आरोपहरू आधारविहीन र राजनीतिक प्रतिशोधका आधारमा लगाइएका दाबी गरेकी छन्।

‘केही प्रमाण छैन, कुनै ठोस आधार छैन, तर करोडौं धरौटी बुझाइसकेपछि पनि उहाँलाई हाड, छाला, पसिना, रगत लिने गरी दुःख दिइँदैछ,’ उनले लेखेकी छन्, ‘यही हो अनुसन्धान ? यही हो न्याय ? यही हो सरकार ? यही हो अदालत ? यही हो बुद्धिजीवी समाज ? यही हो मानव अधिकार ?’

निकिता लेख्छिन्, ‘म घर सम्हाल्छु, तिमी देश सम्हाल भनेर हाँसीहाँसी टिका लगाएर पठाएकी थिएँ। आज तेस्रो वर्षमा मेरो श्रीमान् घर फर्किन सक्नु भएको छैन।’ उनले रविको निलो रङ्गको सपना अधुरो भएको भन्दै पीडा व्यक्त गरेकी छन्।

उनले हस्ताक्षर अभियान सुरु गर्ने बताउँदै चितवन आउने घोषणा पनि गरेकी छन् । ‘चितवनले हामीलाई परिवार मानेको छ,’ उनले भनिन्, ‘म चाँडै चितवन आउँदैछु। श्रीमानमाथि भएको अन्यायको विरुद्ध हस्ताक्षर संकलनमा सहभागी हुन सबैलाई आग्रह गर्छु।’

निकिताले सामाजिक सञ्जालमा लेखेकी यो अभिव्यक्तिपछि रविलाई समर्थन गर्ने अभियान फेरि तातिएको छ। #JusticeForRabiLamichhane ट्रेन्ड भइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *