१० वर्षपछि फेरिएको गुगल आइकन, तपाईंलाई कस्तो लाग्यो ?
वैशाख ३०, २०८२ । सर्च इन्जिन गुगलले आफ्नो ‘जी’ आइकनमा दशकपछि दृश्यात्मक परिवर्तन गरेको छ। कम्पनीले यसपटक आइकनलाई चारवटा ठोस रङबाट एकअर्कामा मिसिने ग्रेडियन्ट शैलीमा रूपान्तरण गरेको हो।
सन् २०१५ मा हालको गोलाकार ‘जी’ आइकन सार्वजनिक गरिएको थियो। त्यसअघि निलो पृष्ठभूमिमा रहेको सानो सेतो ‘g’ प्रयोग हुँदै आएको थियो। त्यसबेलादेखि प्रयोगमा रहेको चारवटा छुट्टाछुट्टै रंग (रातो, पहेँलो, हरियो, निलो) समावेश भएको डिजाइलाई कम्पनीले अब परिमार्जन गर्दै रङहरू आपसमा मिसिने शैलीमा अपडेट गरेको छ।
नयाँ आइकनमा अब रातो रङ पहेँलोमा, पहेँलो हरियोमा, र हरियो नीलो रङमा क्रमशः मिसिएको देखिन्छ। डिजाइन शैली गुगलको एआई सेवा ‘जेमिनाई’ मा प्रयोग गरिएको ग्रेडियन्टको झल्को दिने खालको छ। साथै, कम्पनीले आफ्नो एआई मोडमा प्रयोग हुने सर्टकटहरूमा पनि यस्तै रङ मिसिएको ग्राफिक शैली समावेश गरिसकेको छ।
यो परिवर्तन अहिले गुगल सर्च एपको नयाँ अपडेटमार्फत एप्पल आईओएस प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ। एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि सोमबारबाटै १६.१८ भर्सनको अपडेटसँगै नयाँ आइकन देखिन थालेको हो।
सामान्य प्रयोगकर्ताका लागि यो सूक्ष्म परिवर्तन हुनसक्छ, विशेषगरी ब्राउजरको फेभिकनको रूपमा आइकनको दृश्यता झन् न्यून हुने भएकाले धेरैले तुरुन्तै ध्यान नपाउन सक्ने सम्भावना छ। यद्यपि, ग्राफिक डिजाइन परिवर्तनको दृष्टिकोणले हेर्दा, यो परिवर्तनलाई गुगलको ब्रान्ड आइडेन्टिटीमा महत्त्वपूर्ण विकासको रूपमा लिइएको छ।
गुगलले आफ्नो मुख्य लोगो, जसमा ‘Google’ लेखिएको हुन्छ, हाललाई परिवर्तन नगर्ने स्पष्ट संकेत दिएको छ। तर अन्य सेवाहरू,जस्तै गुगल म्याप्स, क्रोम आदिमा यसै ग्रेडियन्ट शैलीको विस्तार हुनेछ कि भन्नेबारे कम्पनीले कुनै आधिकारिक जानकारी भने दिएको छैन।
गुगलको यो नवीनतम ग्राफिक परिवर्तन उसले प्रविधिमा ल्याइरहेको नवप्रवर्तन (Innovation) र प्रयोगकर्ता अनुभवमा निखार ल्याउने लक्ष्यसँग जोडिएको मानिन्छ।

