२५ वर्षपछि नक्साल हिटीमा फेरि बग्न थाल्यो पानी, मेयर बालेनको पहलमा सफल भयो सम्पदा संरक्षण
जेठ २, २०८२ । करिब २५ वर्षदेखि बन्द अवस्थामा रहेको काठमाडौंको ऐतिहासिक नक्साल हिटीमा पुनः पानी प्रवाह सुरु भएको छ। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को नेतृत्वमा भएको निरन्तर प्रयासपछि अहिले हिटीमा नियमित रूपमा पानी झर्न थालेको हो।
मेयर बालेनले आफ्नै फेसबुकमार्फत यो सफलताको जानकारी दिँदै लेखेका छन्, “२५ वर्षपछि नक्साल हिटीमा फेरि पानी झर्न थालेको छ। यो परम्परागत प्रणालीको पुनःसञ्चालन, संरक्षण र सम्वर्द्धनको एउटा महत्वपूर्ण पाइलो हो।”
२०७९ सालको भदौ महिनामा महानगरले ३२ वटै वडामा गरेको अनुगमनका क्रममा नक्साल हिटीको पनि निरीक्षण गरिएको थियो। त्यतिबेला स्थानीय बासिन्दाले हिटीमा २०५५ सालदेखि पानी ननिस्किएको गुनासो गरेका थिए। पुरातत्व विभागको २०४२ सालको अभिलेखमा समेत बेलाबेला पानीको निकास बन्द हुने उल्लेख भेटिएको थियो।
समस्या समाधानका लागि सम्पदा तथा पर्यटन विभागमार्फत पहल गरियो। अनुगमनको क्रममा हिटीको मुहानसँग जोडिएको पुरानो मंगाल करिब ४ फिट खनेर फेला पारिएको थियो। तर, पानी नआएको कारण मंगालसँग जोडिएका तीनवटा घरहरूले निकास अवरुद्ध पारेको पत्ता लाग्यो।
वडा नं. १ को समन्वयमा ती घरधनीहरूसँग छलफल गरी जनही २–२ लाख रुपैयाँ जरिवाना गरियो र सो रकमबाट नयाँ मंगाल निर्माण गरियो। हिटीको निकास नारायणहिटी संग्रहालयभित्रको टुकुचा खोलासम्म पुग्ने भए पनि मार्गभित्रका रुखका जरालगायत अवरोधले पनि पानीको बहाव रोकिएको थियो।
करिब ८ महिनासम्म लगातार सफाइ, मर्मत र अध्ययन गरिएको यो प्रयास अहिले सफल भएको छ। दुईवटा पृथक स्रोतबाट हिटीमा हाल निरन्तर पानी झरिरहेको छ।
सम्पदा विभागको समन्वयमा हिटीको परम्परागत संरचना समेत पुनःनिर्माण गरिएको छ।
यो प्रयास काठमाडौंमा सम्पदा पुनर्जीवन र संरक्षणका लागि उदाहरणीय बनेको छ। अन्य हिटी र परम्परागत पानी प्रणाली पुनःस्थापनाको लागि पनि यसलाई नमूना परियोजना मानिएको छ।

