मनोरञ्जन

निखिल उप्रेतीको एक्सन फिल्म ‘आचार्य’बाट अभिनयमा डेब्यु गर्दै उषा उप्रेती

Sharing is caring!


वैशाख १२, २०८२ । नेपाली म्युजिक भिडियोमा सक्रिय र पहिचान बनाइसकेकी मोडल उषा उप्रेती अब नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । उनी अभिनेता तथा निर्देशक निखिल उप्रेतीको नयाँ एक्सन प्रधान फिल्म ‘आचार्य’मार्फत अभिनय यात्रामा प्रवेश गर्न लागेकी हुन् ।

फिल्ममा अनुबन्धित भएको कुरा उनले सामाजिक सञ्जालमार्फत पुष्टि गरेकी छन् । अभिनेत्री संचिता लुइँटेल र निखिल उप्रेतीसँगको तस्बिर सार्वजनिक गर्दै उनले लेखेकी छिन्, “नयाँ यात्रा सुरु हुँदैछ, साहसिक यात्राको सुरुवात।” उनको पोस्टमा उत्साह झल्किएको देखिन्छ ।

‘आचार्य’ शीर्षकको यस फिल्मलाई निखिल उप्रेतीले निर्देशन तथा निर्माण गर्ने तयारी गरेका छन् । यो फिल्मलाई उनले आफ्नै ‘स्वप्न प्रोजेक्ट’का रूपमा अगाडि सारेका छन् । गत चैतमा फिल्म निर्माणको स्वीकृति प्राप्त गरेका निखिलले केही दिनअघि पोखराको साराङकोट क्षेत्रमा लोकेसन अवलोकन गरेको भिडियो सार्वजनिक गरेका थिए, जसमा उनी प्याराग्लाइडिङ स्थलमा देखिएका थिए ।

त्यसबाट अनुमान गर्न सकिन्छ कि फिल्ममा हवाइ दृश्यहरू रहनेछन् र एक्सन शैलीमा नयाँ स्वाद दिने प्रयास गरिनेछ । स्रोतका अनुसार फिल्मका लागि निखिलले दक्षिण भारतीय एक्सन कोरियोग्राफरसँग सहकार्य गर्ने योजना बनाएका छन् ।

मोडलिङमा चर्चा कमाएकी उषा उप्रेतीको यो पहिलो चलचित्र हो । अभिनय, हाउभाउ र स्क्रीन प्रेजेन्सका कारण उनलाई म्युजिक भिडियोहरूमा राम्रै स्थान दिइएको पाइन्छ । फिल्मी करियरको सुरुवात निखिल जस्तो एक्सन हिरोसँग हुनुले उनको करियरमा ठुलो मोड आउने विश्वास गरिएको छ ।

फिल्मको छायांकन जेठ महिनाबाट सुरु गरिने तयारीमा निर्माण पक्ष रहेको जनाइएको छ । ‘आचार्य’लाई लिएर दर्शक, फिल्मकर्मी र निखिलका प्रशंसकहरूमा विशेष उत्सुकता देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *