अध्यक्ष नेपालविरुद्ध षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको एकीकृत समाजवादीको निष्कर्ष
असार १३, २०८२ । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालविरुद्ध राजनीतिक प्रतिशोध स्वरूप षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालेको छ ।
पार्टी सचिवालयको शुक्रबार सम्पन्न बैठकले पतञ्जलीसँग सम्बन्धित भनिएको जग्गा हिनामिना प्रकरणको नाममा अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा लगाइनु योजनाबद्ध राजनीतिक चाल भएको ठहर गरेको हो ।
पार्टीका उपाध्यक्ष प्रकाश ज्वालाले पूर्व एमालेमा विद्रोह गरेर समाजवादी पार्टी बनाइएदेखि नै आफूहरू राजनीतिक रूपमा लक्षित हुँदै आएको उल्लेख गरे । ‘नयाँ पार्टी गठन गरेपछि नै हामीमाथि आक्रमण भइरहेको छ,’ज्वालाको भनाइ छ, ‘अध्यक्ष नेपालमाथि अहिले गरिएको आरोप पनि त्यसैको निरन्तरता हो ।’
उनका अनुसार पार्टीले यो मुद्दामा कानुनी रूपमा लड्ने निर्णय गरिसकेको छ । उनले अध्यक्ष नेपालको राजीनामा वा नेतृत्प परिवर्तनबारे भने हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे । ‘उहाँले सचिवालय बैठकको अध्यक्षता गर्नुभएको थियो, संसदीय दलको बैठकबाट मात्र नेताको विषयमा छलफल होला,’ उनले बताए ।
यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीसँग जोडिएको जग्गा सम्बन्धी प्रकरणमा पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि अदालतले नेपाललाई ३५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

