सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको मृत्यु
असार ११, २०८२ । रौतहटको चन्द्रपुर नगरपालिका–१० निबुवा टोलमा सेफ्टिक ट्याङ्कीमा खसेर दुई बालबालिकाको ज्यान गएको छ।
मंगलबार साँझ पौने ८ बजेतिर खेल्ने क्रममा एक वर्षीय रञ्जे साह र एक वर्षीया खुश्बु साह ट्याङ्कीमा खसेका हुन्। रञ्जे गरिमा साहका छोरा हुन् भने खुश्बु जगदीश साहकी छोरी हुन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक राजकुमार राईका अनुसार दुवै बालबालिका स्थानीय हृदय पासवानको घरअगाडि रहेको शौचालयको सेफ्टिक ट्याङ्कीमा खसेका थिए।
दुबैलाई तत्काल उद्धार गरी सरकारी अस्पताल चन्द्रनिगाहपुर लगिएको थियो। तर, उपचारकै क्रममा साँझ ८:१५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।

