विदेश

पुटिनले जेलेन्स्कीको भेट अस्वीकार गर्दा टर्की वार्ता निष्क्रियजस्तै

Sharing is caring!

जेठ २, २०८२ । रूस–युक्रेन युद्ध अन्त्य गर्न टर्कीमा (आज) शुक्रबारबाट सुरु भएको वार्तामा सार्थक उपलब्धिको सम्भावना कमजोर देखिएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको प्रत्यक्ष भेटको प्रस्ताव अस्वीकार गर्दै वार्तामा आफैं सहभागी नहुने निर्णय लिएका छन्।

मार्च २०२२ पछि पहिलोपटक दुबै देशका प्रतिनिधिहरू प्रत्यक्ष संवादका लागि तयार भए पनि पुटिनको अनुपस्थितिमा रूसले दोस्रो तहको टोली पठाएको छ। युक्रेनका तर्फबाट भने वार्ता टोलीको नेतृत्व रक्षा मन्त्री रुस्तेम उमेरोभले गरेका छन्।

पुटिनको निर्णयलाई युक्रेनले शान्तिप्रतिको उदासीनताका रूपमा व्याख्या गर्दै आलोचना गरेको छ। राष्ट्रपति जेलेन्स्कीले प्रत्यक्ष संवादको अभावमा वास्तविक समाधान निकाल्न गाह्रो हुने बताएका छन्।

यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि समग्र वार्तालाई लिएर संका प्रकट गरेका छन्। उनले नेतृत्व तहबीच प्रत्यक्ष छलफलबिना ठोस परिणाम ननिस्कने धारणा राखेका छन् भन्ने कूटनीतिक वृत्तमा चर्चा छ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले दुबै नेताको भेटघाटका लागि तयारी गरिएको बताएका छन्। तर पुटिनको सहभागी नहुनुले टर्कीको पहललाई सीमित तुल्याएको विश्लेषण गरिन्छ।

कूटनीतिक जानकारहरूका अनुसार, द्वन्द्व अन्त्यका लागि उच्च राजनीतिक इच्छाशक्ति र प्रत्यक्ष संवाद अपरिहार्य छ। अहिलेको अवस्थामा तत्कालै ठुलो सहमति निस्कने सम्भावना कम रहेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *