गैर-सहमतिक अश्लील सामग्री र डीपफेकविरुद्ध कडा कानून : ट्रम्पले गरे ‘Take It Down’ ऐनमा हस्ताक्षर
जेठ ६, २०८२ । अमेरिकामा यौनजन्य डिजिटल दुरुपयोग रोक्न नयाँ संघीय कानून लागू गरिएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘Take It Down’ ऐनमा हस्ताक्षर गरेसँगै गैर-सहमतिक अश्लील सामग्री तथा एआई प्रविधिबाट बनाइएका ‘डीपफेक’ भिडियोहरूमाथि कडा कानुनी प्रावधान लागु भएको छ।
ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित कार्यक्रममा सहभागी प्रथम महिला मेलानिया ट्रम्पले यो ऐन ‘Be Best’ अभियानको निरन्तरता भएको बताइन्। उनले भनिन्, “Take It Down ऐनमार्फत हामी बालबालिकाको भलाइलाई प्राथमिकतामा राख्दैछौं। Be Best का मूल्य अब देशको कानुनमा समावेश भएका छन्।”
नयाँ ऐन अनुसार पीडितको अनुरोधमा अनलाइन प्लेटफर्मले ४८ घण्टाभित्र सामग्री हटाउनुपर्नेछ। यस्ता सामग्री प्रकाशित वा प्रवाह गरे संघीय अपराध मानिनेछ, जसको सजाय दुई वर्षसम्म जेल हुन सक्छ। यदि सामग्रीमा नाबालिग समावेश छन् भने जेल सजाय तीन वर्षसम्मको हुनसक्नेछ।
यस कानूनसँगै डिजिटल सुरक्षाका क्षेत्रमा महत्वपूर्ण सुधार हुने विश्वास गरिएको छ। टेक कम्पनीहरूलाई यस अन्तर्गत अनलाइन दुरुपयोग रोक्न प्राविधिक संरचना विकास गर्नुपर्नेछ। मेटा, गुगल र स्न्यापच्याटजस्ता कम्पनीहरूले यस पहलको समर्थन जनाएका छन्।
‘Take It Down’ ऐनले पीडितलाई न्याय दिलाउने र डिजिटल युगमा व्यक्तिगत गोपनीयताको संरक्षण गर्ने दिशामा उल्लेखनीय प्रगति गरेको विश्लेषण गरिएको छ।

