देश

रिङरोड विस्तारको कार्यलाई छिटो सम्पन्न गराउन कांग्रेस नेता पौडेलले दबाब यात्रा गर्ने

Sharing is caring!


असार १३, २०८१ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले रिङरोड विस्तारका लागि दबाब यात्रा गर्ने भएका छन्। उनले रिङरोडको विस्तारकार्य ढिलाई भैरहेकोले पटक पटक सरोकारवालाको ध्यानाकर्ष गराउँदा समेत कामले गति नलिएको र वेवास्ता गरिएको भन्दै यही असार १५ गते दबाब यात्रा गर्ने बताएका छन् ।

काठमाडौंको रिङरोड समयमै निर्माण सम्पन्न नहुँदा धुँवा धुलोले यहाँको वातावरणदेखि स्थानीय बासिन्दा र सर्वसाधारण जनताको स्वास्थ्यमा प्रत्यक्ष रुपमा गम्भीर असर परिरहेको भनाइ पौडेलको छ । सरकारले महत्वपूर्ण परियोजनालाई अलपत्र पारेर नागरिकको स्वास्थ्यसँग खेलबाड गरिरहेको आरोप लगाउँदै नेता पौडेलले सरोकारवालालाई जिम्मेवार बनाउन दबाब यात्रा गर्ने बताएका हुन् ।

उनले पन्ध्र गते बिहान ७ बजे कलंकी चोकबाट यात्र सुरु गरेर स्वयम्भू, बालाजु, बसपार्क–बसुन्धरा हुँदै चाबहिल धोबिखोला पुलमा पुगी सम्बोधन सहित समापन गर्ने कार्यक्रम रहेको पौडेलको सचिवालयले जनाएको छ ।

केही दिन अघि पनि नेता पौडेलले रिङरोड विस्तारको बाँकी काम छिटो सम्पन्न गर्न आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री वर्षमान पुनलाई भेटेर ध्यानाकर्षण गराएका थिए ।

यस्तै, उनले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गसँग पनि रिङरोड विस्तारको बाँकी काम सम्पन्न गर्ने विषयमा छलफल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *