Headlineदेश

बजेट सन्तुलन र समृद्धिको दिशामा : प्रधानमन्त्री ओली

Sharing is caring!

असार १०, २०८२ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको बजेट सकेसम्म सन्तुलित बनाउने प्रयास गरिएको स्पष्ट पार्दै आगामी दिनमा माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न थप पहल गरिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका निकायसँग सम्बन्धित खर्च कटौतीको प्रस्तावमा उठेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री ओलीले देशको समृद्धिका लागि लगानी आवश्यक रहेको भन्दै निजी क्षेत्र र वैदेशिक लगानी भित्र्याउन सरकार प्रतिबद्ध रहेको बताए ।

“हामी छिटो विकास चाहन्छौं, धेरै ठाउँमा चाहन्छौं, तर बजेट सीमित छ । त्यसैले सबै सांसद सन्तुष्ट हुन नसक्नु स्वाभाविक हो । तर हामी सन्तुलन कायम गर्न गम्भीर छौं,” प्रधानमन्त्री ओलीले भने। उनले लगानी बोर्डमार्फत योजनागत र विश्लेषणात्मक ढंगले काम अघि बढाइने जानकारी दिए ।

संसदलाई जनताको बलिदान, संघर्ष र सपना साकार पार्ने थलोको रूपमा उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सदनमा गैरजिम्मेवार अभिव्यक्ति नगरिन आग्रह गरे । “लोकतन्त्र र राष्ट्रियतालाई कमजोर बनाउने हल्का टिप्पणी गर्नु हुँदैन,” उनको भनाइ थियो ।

संविधानको सम्मान र सुधारप्रति सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो । “ममाथि गाली आउन सक्छ, सहन सक्छु। तर, शहीद, जनताको बलिदान र व्यवस्थाको अपमान सहन सकिँदैन,” उनले जोड दिए ।

प्रधानमन्त्री ओलीले योजना बैंकमार्फत ३ करोडभन्दा कमको आयोजना नराख्ने नीति अवलम्बन गरिएको जानकारी गराउँदै आगामी वर्षमा यसको प्रभावकारी कार्यान्वयनमा सरकार सक्रिय हुने बताए । साथै, विकास निर्माण र सुशासनमा सबै सरकारी निकायहरूलाई जिम्मेवार बनाउँदै जनअपेक्षा अनुरूप समृद्धिको दिशामा सरकार अघि बढिरहेको प्रस्ट पारे ।

अन्त्यमा उनले सरकारले कसैको विरुद्ध षड्यन्त्र गर्ने खेल खेलिरहेको भनी भ्रामक प्रचार नगर्न सबैलाई आग्रह गरे । “हामीलाई खेल खेल्ने फुर्सद छैन, जनताको म्याण्डेट कार्यान्वयन गर्नमै व्यस्त छौं,” प्रधानमन्त्रीको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *