आज योगिनी एकादशी : व्रत बस्नेले पाउँछन् रोगमुक्ति र पुण्यफल
असार ७, २०८२ । आज आषाढ कृष्ण पक्षको योगिनी एकादशी व्रत देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ। धर्मशास्त्रअनुसार, योगिनी एकादशी व्रत बस्नाले कुष्ठरोगजस्ता गम्भीर रोगहरूको नाश हुने, पाप क्षय हुने र पुण्य लाभ प्राप्त हुने विश्वास छ।
हिन्दू धर्ममा एकादशी व्रतको विशेष स्थान रहेको छ। विशेषतः योगिनी एकादशीलाई पवित्रता, स्वास्थ्य र आत्मशुद्धिका लागि अत्यन्त फलदायी मानिन्छ। भगवान विष्णुको आराधना गर्दै यो व्रत बस्दा मृत्युलोकका कष्टहरू घट्ने र परलोकमा मुक्ति प्राप्त हुने धार्मिक मान्यता छ।
व्रतालुहरूले आज बिहानै स्नान गरी भगवान लक्ष्मीनारायणको विधिपूर्वक पूजा, धूप, दीप, नैवेद्य अर्पण गरी उपवास बस्ने गर्दछन्। ब्राह्मणलाई भोजन गराई दान दिने परम्परा समेत रहेको छ।
धार्मिक ग्रन्थ महाभारतमा योगिनी एकादशी व्रतको विशेष महिमा उल्लेख गरिएको छ। युधिष्ठिरले भगवान श्रीकृष्णसँग यसको बारेमा जिज्ञासा राख्दा, कृष्णले प्राचीन कालको कथा सुनाएका थिए।
कथा अनुसार, अलकापुरी नगरीमा राजा कुबेरका माली हेमले आफ्नो कर्तव्य भुलेर पत्नीसँग रमाइलो गर्दै भगवान शंकरका लागि फूल ल्याउन बिर्सिएका थिए। त्यसका कारण कुबेरले उनलाई श्राप दिए — मृत्युलोकमा जन्म लिई कोढ़ रोगले पीडित हुने।
श्रापका कारण दुःखी बनेका हेम माली मार्कण्डेय ऋषिको आश्रम पुगे। ऋषिले योगबलले उनको पीडा थाहा पाएपछि योगिनी एकादशी व्रतको सल्लाह दिए। व्रत गरेपछि हेम माली रोगमुक्त भए र पुनः दिव्य स्वरूपमा स्वर्ग फर्किन सफल भए।
शास्त्र अनुसार, जसले व्रत बस्न सक्दैन, उसले पनि आजको दिन योगिनी एकादशी कथा सुने वा पढेमा पुण्य फल प्राप्त हुन्छ। यसले पाप नाश गरी मन, शरीर र आत्मालाई शुद्ध तुल्याउने विश्वास छ।
व्रत बस्ने नियम अनुसार, दशमी दिनदेखि नै ब्रह्मचर्यको पालना गर्नुपर्छ। एकादशीका दिन पूर्ण उपवास बस्ने, नसकेर एकछाक वा नक्त भोजन गर्ने चलन छ। मनोरञ्जन, झुटो बोल्ने, क्रोध, चोरी, हिंसा, परनिन्दा, र यौन प्रसङ्गबाट टाढा रहनु आवश्यक हुन्छ।
व्रतको दिन भगवान विष्णुलाई पंचामृत स्नान गराई चरणामृत ग्रहण गर्ने परम्परा पनि छ, जसले चर्मरोग र अन्य व्याधिमा राहत दिने विश्वास गरिन्छ। साथै, विष्णु सहस्रनामको जप, हरिकथा, भजन, कीर्तन र रातभर जागरण पनि व्रतको हिस्सा हो।
धार्मिक मान्यता अनुसार, यो व्रत श्रद्धा र विधिपूर्वक सम्पन्न गरेमा जीवनमा शुभ फल प्राप्त हुन्छ। परिवारमा मेलमिलाप बढ्ने, नकारात्मकता हट्ने र आध्यात्मिक ऊर्जा सशक्त हुने विश्वास गरिन्छ।

