आज विश्व प्रेस स्वतन्त्रता दिवस
वैशाख २०, २०८२ । आज मे ३ तारिखका दिन विश्वभर ३२औँ विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदैछ। “बलियो नयाँ युगमा रिपोर्टिङ – प्रेस स्वतन्त्रता र मिडियामा कृत्रिम बुद्धिमत्ताको प्रभाव” भन्ने नारासहित नेपालमा पनि विविध कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
नेपाल पत्रकार महासंघसहित विभिन्न पत्रकार संगठन तथा सञ्चारसँग सम्बन्धित संस्थाहरूले आजको दिनलाई विशेष महत्वका साथ मनाउँदै विविध छलफल, गोष्ठी तथा सचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन्।
संयुक्त राष्ट्रसंघीय संस्था युनेस्कोले सन् १९९३ देखि हरेक वर्ष मे ३ मा विश्व प्रेस स्वतन्त्रता दिवस मनाउन थालेको हो। यो दिवसको प्रारम्भ सन् १९९१ मा नामिबियाको विन्डहक शहरमा सम्पन्न पत्रकार सम्मेलनमा जारी ‘विन्डहक घोषणापत्र’ को सम्झनामा गरिएको हो। उक्त घोषणापत्रले बहुलवादी र स्वतन्त्र प्रेसको संरक्षण र प्रवर्द्धनको माग गर्दै आएको थियो।
प्रेस स्वतन्त्रता दिवस मनाउने उद्देश्य नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्नु र पत्रकारलाई निर्भीक र सुरक्षित वातावरणमा कार्य गर्न सकिने सुनिश्चितता दिलाउनु हो। यद्यपि, नेपालमा संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरे पनि पछिल्लो एक वर्षमा मात्र प्रेस स्वतन्त्रता हननका ७३ वटा घटना सार्वजनिक भएका छन्।
यस वर्षको सन्दर्भमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगले मिडिया क्षेत्रमा पार्ने प्रभावबारे विशेष बहस र चासो देखिएको छ। पत्रकारिताको गुणस्तर, स्वतन्त्रता र विश्वसनीयता कायम राख्न डिजिटल युगका नयाँ चुनौतीहरूलाई ध्यानमा राख्दै पत्रकार, नीतिनिर्माता र सरोकारवालाबीच समन्वय आवश्यक रहेको विज्ञहरूको भनाइ छ।

