आज आमाको मुख हेर्ने पर्व, मातातीर्थमा श्रद्धालुको घुइँचो
वैशाख १४, २०८२ । आज देशभर आमा प्रतिको अतुलनीय प्रेम र श्रद्धा व्यक्त गर्दै आमाको मुख हेर्ने पर्व मनाइँदैछ। वैशाख कृष्ण औँसीका दिन पर्ने यो विशेष अवसरमा सन्तानले आफ्नी आमालाई मीठा परिकार अर्पण गर्दै सम्मान र आशीर्वाद लिने चलन छ।
शास्त्रीय मान्यताअनुसार जन्मदात्री आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि उच्च स्थानमा रहन्छिन्। “जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” भन्ने वैदिक भनाइले जन्मदात्री आमाको महिमा झल्काएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले बताए। उनका अनुसार सन्तानले आज बिहानै नुहाएर आमालाई नयाँ लुगा लगाइदिने, मिठा खानेकुरा अर्पण गर्ने परम्परा छ।
जिनका आमा दिवङ्गत भइसकेका छन्, उनीहरूले दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्डदान र सिदादान गरी श्रद्धा व्यक्त गर्छन्। वैदिक परम्परामा दिवङ्गत आमाले आजको दिन सन्तानबाट आश गर्ने भएकाले तर्पण गर्दा उनीहरू प्रसन्न हुने विश्वास गरिएको छ।
यस अवसरमा काठमाडौँको चन्द्रागिरि नगरपालिका मातातीर्थमा आज विशेष मेला लागेको छ। नगरप्रमुख घनश्याम गिरीका अनुसार मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको छ। विगतका वर्षझैं यसपटक पनि बिहानैदेखि श्रद्धालुहरूको बाक्लो उपस्थिति देखिएको छ।
यद्यपि केही स्थानमा सूर्यग्रहण र गुरु अस्त जस्ता खगोलीय घटनाका कारण आमाको मुख हेर्न नमिल्ने भनी अफवाह फैलिएको थियो, तर नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसलाई निराधार बताएको छ। समितिले परम्परागत विधिअनुसार आमाको मुख हेर्ने कार्य आज शास्त्रसम्मत रूपमा हुन सक्ने स्पष्ट पारेको छ।
आमाको सेवा र सम्झनालाई जीवनको महान् कर्तव्य ठान्ने नेपाली समाजले आजको दिनलाई विशेष रुपमा मनाउँदै मातृप्रेमको अनुपम उदाहरण प्रस्तुत गरेको छ।

