नेपाली काँग्रेसका वरिष्ठ नेता तीर्थराम डंगोलको ७७ वर्षको उमेरमा निधन
वैशाख १३, २०८२ । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा लोकतान्त्रिक आन्दोलनका अग्रज योद्धा तीर्थराम डंगोलको ७७ वर्षको उमेरमा निधन भएको छ। उहाँको गएराति ११ बजे काठमाडौंको केएमसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित डंगोल पछिल्ला वर्षहरूमा सक्रिय राजनीतिक गतिविधिबाट टाढा रहँदै आउनुभएको थियो। उहाँको निधनले लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्याउने एक महत्वपूर्ण व्यक्तित्वको अवसान भएको काँग्रेस नेताहरूले जनाएका छन्।
डंगोलको पार्थिव शरीर हाल उहाँकै निजी निवासमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली काँग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने काँग्रेस स्रोतले जनाएको छ। श्रद्धाञ्जलीपछि अन्त्येष्टि प्रक्रिया अघि बढाइनेछ।
राजनीतिक जीवनमा उहाँले लोकतन्त्र स्थापनाका विभिन्न चरणमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै विभिन्न कार्यकालमा मन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएको थियो। काँग्रेसभित्र उहाँको योगदान राजनीतिक अनुशासन, संगठन सुदृढीकरण र आन्दोलनको अग्रपङ्क्तिमा रहँदा देखिएको प्रतिबद्धताका रूपमा स्मरण गरिएको छ।
नेपाली काँग्रेससहित विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा नागरिक समाजले डंगोलप्रति श्रद्धाञ्जली अर्पण गर्दै गहिरो शोक व्यक्त गरेका छन्।

