देश

समाजमा नकारात्मक भाष्य सिर्जना गर्नु गलत : प्रधानमन्त्री

Sharing is caring!

असार ७, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरू देश र जनताप्रति उत्तरदायी नभएको बताएका छन् ।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलन उदघाटन गर्दै उनले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए ।

उनले भने, ‘सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो । जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन । इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ । बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन ।’

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संसारभर जनतालाई कता डोहोर्याउने भन्ने सवालमा बुद्धिजीवीहरूको भूमिका निर्णायक हुने बताए ।

उनले भने, ‘क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ । हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तीकै छ ।’

क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता रहेको पनि उनको भनाइ छ ।

उनले बुद्धिजीवीहरूले जनमतलाई समाजवादी दिशातिर डो¥याउन भूमिका खेल्नुपर्ने भन्दै क्रान्तिका उपलब्धि जोगाउन र समाजवादको वैचारिक आधार तयार पार्न सबैले आ–आफ्ना क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।

बृहत्तर पार्टी एकताका निम्ति आफू लागिपरेको जानकारी दिँदै उनले जतिसुकै अप्ठ्यारो परिस्थिति आए पनि समाजवादको आधार निर्माण गर्न आफू दृढ संकल्पित भएर लागेको स्पष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *