Headlineदेश

निजामती विधेयकमा छेडछाड गर्ने कारबाहीको दायरामा पर्छन् : खतिवडा

Sharing is caring!

असार १७, २०८२ ।  संघीय निजामती सेवासम्बन्धी विधेयकमा ‘कुलिङ पिरियड’ विषयमा देखिएको विवादबारे संसद्को राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संलग्न जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्।

मंगलबार सभामुख देवराज घिमिरेसँगको छलफलपछि पत्रकारहरूसँग प्रतिक्रिया दिंदै खतिवडाले विधेयकमा कसको गल्तीबाट संशोधन गरिएको हो भन्ने विषयमा छानबिन आवश्यक रहेको बताए। उनले भने, “कसले शब्द थप्यो, किन थप्यो — त्यो पत्ता लगाउन जरुरी छ। यो सामान्य गल्ती होइन, संसद्को गरिमामाथिको प्रहार हो।”

खतिवडाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका पदाधिकारीहरूलाई समितिमा बोलाइए पनि उनीहरू उपस्थित नभएको बताए। “आजै छलफलका लागि बोलाएका थियौँ, तर मन्त्रालयका प्रतिनिधि नै आएनन्,” उनले गुनासो गरे।

उनका अनुसार अब समितिको बैठक पनि यस विषयको निष्कर्ष ननिस्किएसम्म स्थगित रहनेछ। “जबसम्म तथ्य पत्ता लाग्दैन, बैठक बस्दैन,” खतिवडाले दोहोर्‍याए।

खुद आफू पनि छानबिनको दायरामा पर्न सक्ने उल्लेख गर्दै खतिवडाले भने, “यदि मेरो पनि संलग्नता देखियो भने म कारबाही भोग्न तयार छु। दोष जोसुकैको भए पनि छानबिन हुनैपर्छ।”

खतिवडाको भनाइमा, विधेयक निर्माण प्रक्रियामा गरिएको यस्तो त्रुटि संसद्को विश्वसनीयता र प्रक्रियागत पारदर्शितामाथि प्रश्न उठाउने खालको हो। त्यसैले समितिले छानबिनलाई प्राथमिकतामा राख्ने निर्णय गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *