अखवार

सत्ता स्वार्थको ‘अखडा’ बन्यो संसद्

Sharing is caring!

जेठ ८, २०८१ । ‘सत्तामै बस्नका लागि यो हदसम्मको बेइमानी, बदमासी गर्न हुन्छ रु यिनीहरूले त सत्ता पाइन्छ भनेपछि लोकतन्त्र र गणतन्त्र मास्न पनि बेर लाउँदैनन् ।’ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार संसद् भवन परिसरमा पत्रकाहरूलाई दिएको प्रतिक्रिया हो यो ।

शालीन, भद्र र निःस्वार्थ नेताको छवि बनाएका केसीले लगाएको यो आरोप अहिलेको सन्दर्भमा ठ्याक्कै मेल खाइरहेको देखिन्छ । प्रतिपक्ष निरन्तर संसद् अवरोध गरिरहने र सत्ता पक्ष पेलेरै भए पनि अघि बढ्ने नेपालको पुरानो राजनीतिक व्यवहार दोहोरिँदै आएको पछिल्ला केही सातादेखिको परिस्थितिले पनि पुष्ट्याउँछ ।

गठतन्त्रपछिको राजनीतिक परिदृष्यलाई मात्र हेर्ने हो भने पनि संसद् जहिल्यै सत्ता पक्ष र प्रतिपक्षको खेल मैदान बनिरेहेको छ । राजनीतिक मुद्दाका विषयमा कयौँ दिनसम्म संसद् बन्द गर्ने दलहरू जनताका मुद्दा र सबालमा भने तैँ चुप मैँ चुप छन् । त्यति मात्र होइन, आफ्ना लागि संसद्मा प्रतिपक्षलाई पेलेरै अघि बढ्न सक्नेसम्मको सामथ्र्य राख्ने सत्तापक्ष पनि जनताका सबालमा भने तटस्थ बसेको देखिएकै छ ।

पछिल्लो समय ‘हट इस्यू’ का रुपमा देखिएको सहकारी प्रकरणकै कुरा गर्ने हो भने कांग्रेस कडा रुपमा संसद्मा प्रस्तुत भइरहेको छ । तर, सत्ता पक्ष त्यसलाई निस्तेज पार्ने खेलमा छ । अचम्मको कुरा चाहिँ के छ भने, कांग्रेस सहकारी प्रकरणमा जनताको पक्षमा भन्दा पनि कुनै एउटा दलको एक जना व्यक्तिमा केन्द्रित भइरहेको छ । तर, आम जनताको विषयप्रति कांग्रेसलाई कुनै वास्ता छैन ।

पूर्वदेखि पश्चिमसम्मका सहकारी पीडित जनताहरू दजनौँ पटक न्यायका लागि काठमाडौँ धाए । कांग्रेसदेखि एमाले र माओवादीसम्मका नेताहरूलाई भेटेरै पीडितहरूले आफ्नो गुनासो पनि सुनाए । तर, कसैले ती भुइँमान्छेका कुरालाई महत्वका साथ लिएनन् । तर, राजनीतिक स्वार्थ पूर्तिका लागि जब एउटा नेता सहकारी प्रकरणमा जोडीएको देखियो त्यसपछि बल्ल संसद्मा त्यो विषयले प्रवेश पायो । त्यो पनि स्वार्थ पूर्तिका लागि मात्र । ‘कांग्रेसलाई अहिले सहकारी पीडितका लागि न्याय चाहिएको छैन । आफ्नो राजनीतिक अभिलासा पुरा गर्नुछ । त्यसैका लागि संसद् अवरोध भएको हो ।’

तर, कांग्रेस त्यसलाई स्वीकार्न चाहँदैन । सहकारी पीडितको नाममा रास्वपाका रवि लामिछानेलाई कारबाहीको माग गर्दै कांग्रेस अडानमा अडान थपेर संसद् अवरोध गर्न लागि परेको छ । छानबिन समिति बनाउने विषयमा भएको सहमतिपछि टिओआरमा लामिछानेकै नाम किटान गर्नुपर्ने कांग्रेसको अडानले यसलाई राजनीतिक प्रतिशोधका रुपमा पनि पुष्ट्याउँछ ।

कांग्रेसले अहिले उठाइरहेको विषयबाट लामिछानेको नाम हटाउने हो भने यसलाई सरकारलाई प्रतिपक्षले दिएको जनमुखी दबाबका रुपमा लिन मिल्ने देखिन्छ । तर, कुनै एउटा आम सरोकारको मुद्दामा राजनीतिक स्वार्थ बाझिने विषय घुसाउँदा अहिले कांग्रेस आफै समस्यामा देखिन्छ ।

सत्ता पक्ष पनि सत्ताको दंभमा प्रतिपक्षलाई पाखा लगाउने खेलमा लाग्दा यो मुद्दा अहिले जनसरोकारको विषयभन्दा पनि एकअर्काप्रति ‘इगो’ साँध्ने माध्यममै सीमित छ । सत्ता पक्ष र प्रतिपक्षको एकअर्काप्रति औँला ठड्याइले अहिले संसद् जनताको मुद्दा उठाउने भन्दा पनि राजनीतिक लडाइँ गर्ने थलोको रुपमा विकसीत भइरहेको छ ।

अहिले एमाले र माओवादी सत्तामा छ भने कांग्रेस प्रतिपक्षमा छ । कुनै समय माओवादी र कांग्रेस सत्तामा हुँदा एमाले प्रतिपक्षमा थियो । र, अवस्था ठ्याक्कै अहिलेकै जस्तो थियो । लोकतन्त्रको व्यवस्था भनेकै सत्ता पक्षलाई प्रतिपक्षले प्रश्न सोध्न पाउने र सत्ता पक्षले प्रतिपक्षको प्रश्नमा जबाफ दिने हो । तर, नेपालको सन्दर्भमा बहुमतको दम्भले लोकतन्त्रको त्यो सुन्दर व्यवस्था कहिल्यै कार्यान्वयन हुन सकेन ।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुखको प्रयोग गर्दै संसद्बाट बलमिच्याइँका साथ विश्वासको मत लिएपछि कांग्रेसले सो घटनालाई संसदीय इतिहासमा अनौठो नजिर स्थापित भएको, सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने काम गरेको जस्ता टिप्पणी गरे । तर, राजनीतिक खेलमैदान बनेको संसद्मा खेलीएको यो एउटा खेल मात्र हो । कुनै समय यस्तै खेल एमालेले खेलेको थियो भने कांग्रेसले पनि यस्तै खेल खेलिसकेको छ ।

सिंगो सदनलाई नै बन्धक बनाउनेदेखि जनताको अभिमतलाई बेवास्ता गर्दै संसद् नै भंग गराउने सम्मको खेलमा लागेको एमाले अहिले जनताको मतको कदर भएन भन्दै प्रतिपक्षलाई गाली गरिरहेको छ । उता, कुनै बेला प्रतिपक्षमा रहेको एमालेलाई संसद्मा निस्तेज पार्दै विधेयक पास गराउने कांग्रेस आज सत्तामा रहनेले प्रतिपक्षको कुरा सुनेन भन्दै होहल्ला गर्दैछ ।

२०७८ सालमा एमालेलाई पेलेर बहुमतकै आधारमा संसद् अवरोधकै बीच पनि २ वटा विधेयक पारित भएको थियो । त्यस समयमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए भने सभामुखमा माओवादीका अग्निप्रसाद सापकोटा थिए । त्यस बेला एमालेलाई कांग्रेसले पाखा लगाएकै थियो । अहिले त्यही अवस्था दोहोरीयो । यो खबर सौर्यबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *