प्रचण्ड सकारको उथलपुथलले कांग्रेस–एमालेको गठबन्धन बन्यो : पूर्वमन्त्री कडेल
असार २९, २०८१ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेन्द्रराज कडेलले निवर्तमान सरकारको उपलपुथलका कारण व्यवस्थामाथि नै जनताले प्रश्न उठाउने परिस्थिति निर्माण भएकाले दुई ठूला दल मिल्नुपरेको बताएका छन् । आज रिपोर्टर्स क्लबले बद्लिदो राजनीतिक परिस्थितिका बारेमा दलका नेताहरुसँग गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमालेको विचार नमिले पनि जनतामा बढेको व्यवस्थामाथिको वितृष्णालाई सम्बोधन गर्न आफूहरु यो निर्णयमा पुगेको बताएका हुन् । उनले निवर्तमान सरकारमा नयाँ दलहरु सहभागी भएर उनीहरुले केही गर्न नसकेको बताए ।
‘नेपाली कांग्रेसको र एमालेको विचार पूर्व र पश्चिमजस्तै हो । हाम्रा विचार मिल्दैन । नमिल्दैगर्दा पनि विगतको सरकारको उथलपुथल र परिवर्तनले गर्दाखेरी आम जनताले यो सिस्टममाथि प्रश्न उठाउन लागेका छन् । केही नयाँ दलहरुले अवसर पाए, हामीले सरकारमा उनीहरुको पनि अनुहार देख्यौं,’– उनले भने ।
पछिल्लो समय आर्थिक मन्दीले गर्दा हरेक व्यक्तिहरु चपेटामा रहेको उनले बताए । आर्थिक मन्दीको पचेटा विकराल रहेको बेला सहकारीबाट जनता झनै प्रताडित हुन्ुपरेको उनले बताए । उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेतर्फ लिक्षित गर्दै सहकारीको रकम ठूलोमात्रामा हिनामिना गर्ने व्यक्तिसमेत सत्तामा पुगेको टिप्पणी गरे ।
नेपालमा विश्वकै उत्कृष्ठ संविधान बनेपनि लागू गर्ने क्रममा समस्या आएको बताए । विचार नमिल्दैगर्दा पनि संविधानमा देखिएका समस्या समाधानका लागि कांग्रेस–एमाले मिल्नुपरेको उनले बताए । ‘आफ्नै कम्युनिष्ट शक्तिसँग मिल्न नसक्ने राजनीतिक दलहरु आज लोकतान्त्रिक शक्तिसँग किन मिल्न गइराखेका छन् ? वा लोकतान्त्रिक शक्तिले पनि वामपन्थी शक्तिलाई लिएर किन सत्तामा जान परिरहेका छ ? किनभने हाम्रो निर्वाचन प्रणाली यस्तो भइदियो, हामीले संसारको उत्कृष्ट संविधान बनायौं । तर, आज व्यवहारमा लागू गर्दैगर्दा त्यहाँ पनि कमीकमजोरी देखियो,’– उनले भने ।
समानुपातिक, समावेशी निर्वाचन प्रणाली राम्रो उद्देश्यसहित संविधानमा व्यवस्था गरिएको दाबी गर्दै उनले त्यसको दुरुपयोग भएको बताए । नेता कडेलले नेताहरुले गणेश प्रवृत्तिका व्यक्ति, आफ्नो परिवार र नातागोताका व्यक्तिहरुलाई समानुपातिको सिटबाट ल्याउन थालेको बताए । यस्तो प्रवृत्तिले व्यवस्थामाथि नै प्रश्न उठ्नेगरेको उनको भनाइ छ । कांग्रेस–एमालेको गठबन्धनमा बन्ने सरकारले संविधान संशोधन गरेर निर्वाचन प्रणालीलाई व्यवस्थित बनाउने उनको दाबी छ । ‘अब यो संविधानलाई केही परिमार्जन गर्छौ । निर्वाचन प्रणालीलाई केही व्यवस्थित गर्छौं भनेर अहिले यो गठबन्धन भएको हो,’– उनले भने ।
कांग्रेस–एमाले गठबन्धन सरकारले गिरीबन्धु, भुटानी शरणार्थीदेखि सबैखाले आर्थिक अनियमितताको फाइल खोल्न सक्नुपर्ने उनको भनाइ छ । उनले यसो गर्न नसकेको खण्डमा कांग्रेस–एमाले गठबन्धनको सरकारमाथि प्रश्न उठ्ने उनले बताए । कांग्रेस–एमाले गठबन्धनको सरकार बन्नेवित्तिकै आफ्नै घरपरिवारलाई च्याप्ने, असफल भएकाहरुलाई मन्त्री बनाउने काम भयो भने राम्रो नहुने उनको भनाइ छ ।
‘चाहे गिरीबन्धु टी स्टेटका कुरा होस्, चाहे भुटानी शरणार्थीका कुरा होस्, या भ्रष्टाचारसँग सम्बन्धित जे कुराहरु उठेका छन्, यो सरकारले त्यो फाइलहरुलाई अगाडि बढाएन भने प्रश्नचिन्ह उठ्छ । आमी ती फाइलहरुलाई अगाडि बढाउनेगरी दोषीलाई कारबाही गर्नुपर्छ,’– उनले भने ।
साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई दोहोरो नागरिकता र दोहोरो पासपोर्टमा उन्मुक्ति दिइएको बताए । सहकारी ठगी प्रकरणमा उन्मुक्ति खोज्न उनी गृहमन्त्री बनेको नेता कडेलको दाबी छ ।
‘तपाईँ हामी कोही भएको भए दोहोरो नागरिकतामा जेल जानुपथ्र्यो । दोहोरो पासपोर्टमा थुनामा जानुपथ्र्यो । आज सहकारीको विभिन्न ठाउँमा आर्थिक अपचलन भयो । धेरै जना थुनामा परिराखेका छन् । जुन व्यक्तिले अब सरकारमा जाँदैनौं भन्यो, फेरि किन गृह मन्त्रालय नै चाहियो ? गृहमन्त्रालय कस्तो हो भने जतिपनि आपराधिक क्रियाकलापहरु छन्, अनियमितता र भ्रष्टाचारहरु त्यो फाइल खोल्न र दवाउन सहज ठाउँ हो,’– उनले भने ।
कांग्रेस–एमाले नेतृत्वको सरकारले सहकारीसँग सम्बन्धित माफियाहरु सबैलाई जेल पठाउने उनको दाबी छ । उनले अहिले गृहमन्त्री लामिछानेलाई जति पीडा अहिले कसैलाई पनि छैन भन्ने कुरा हिजो सदनमा दिएको अभिव्यक्तिबाट पुष्टि भएको बताए ।

