अखवार

ओहदा उच्च, अभिव्यक्ति ‘तुच्छ’ !

Sharing is caring!

जेठ २६, २०८१ । सरकारले बनाएको मर्यादाक्रममा पूर्वप्रधानमन्त्रीलाई छैठौँ क्रममा राखिएको छ । पहिलोमा राष्ट्रपति, दोस्रोमा उपराष्ट्रपति, तेस्रोमा प्रधानमन्त्री, चौथोमा प्रधानन्यायाधीश, पाँचौँमा प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रमुख र छैठौँमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष छन् । मर्यादाक्रमले पूर्वप्रधानमन्त्रीलाई निकै ठुलो स्थान दिएको छ ।

तर, नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भने आफ्नो मर्यादा र हैसियत नै बिर्सेर कहिलेकाहीँ यति तल्लो स्तरको भाषा र शब्द प्रयोग गर्छन् कि जो कसैले पनि त्यसलाई सहज रूपमा पचाउन सक्दैन । राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म ‘उखान टुक्का’को उपनाम पाएका उनी गम्भीर विषयलाई पनि टुक्काकै माध्यमबाट निम्न स्तरको भाषाशैलीमा उडाइदिन्छन् । ओलीको यो पुरानै बानी हो । यसलाई उनले आफ्नो मर्यादासँग कहिल्यै पनि तुलना गर्दैनन्, बोलेपछि पनि त्यसको हेक्का उनमा देखिँदैन ।

ओलीमात्र होइन, अन्य थुप्रै नेताहरू पनि यो लिस्टमा छन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्कराज साम्पाङ जस्ता सार्वजनिक व्यक्तित्वहरूले पनि बेलाबेला आफ्नो मर्यादा बेलाबेला बिर्सिने गरेका छन् ।

कुरा ओलीबाटै । केही दिनअघि झापामा विद्यालय व्यवस्थापन समिति महासंघका प्रतिनिधिसँगको कुराकानीमा ओलीले शिक्षमन्त्री सुमना श्रेष्ठप्रति लक्षित गर्दै ‘विदेशीसँग बिहे गरेको सुन्छु कता हो, नेपाल घुम्न आएकी मन्त्री पो भइन्’ भन्ने अभिव्यक्ति दिए । उक्त अभिव्यक्तिविरुद्ध रास्वपाले प्रतिनिधिसभामै आवाज उठायो भने मन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा त्यसको प्रतिकार गर्दै आफ्नो भनाइ नै सार्वजनिक गरिन् ।

एउटा पार्टीको अध्यक्ष र पूर्वप्रधानमन्त्री जस्तो मर्यादित व्यक्तिले बोल्ने शैली यही हो रु भन्दै ओलीको आलोचना पनि भयो । तर, ओली आफैँले आफ्नो मर्यादाका बारेमा सोचे कि सोचेनन् त्यो उनकै कुरा हो । हुन त ओलीलाई यस्ता विषयमा बानी नै परिसकेकाले यतातर्फ उनको ध्यान नगएको पनि हुन सक्छ । त्यसैले त यस विषयमा शुक्रबार सञ्चारकर्मीहरूले शिक्षा मन्त्रीलाई किन त्यस्तो भन्नुभएको रु भन्दै प्रश्न गर्दा उनले क्षमायाचना वा आत्मालोचना गर्नुको साटो आफ्नो अभिव्यक्ति कसैसँग सम्बन्धित नभएको बताए । उनले भने, ‘संयोगले कसैसँग नाम मिलेजस्तो पनि लाग्दैन, वतन ठेगाना मिलेजस्तो पनि लाग्दैन । यसलाई अनावश्यक ढंगले जोड्नु व्यर्थ छ ।’ सबैलाई उनको त्यो कटाक्ष मन्त्री श्रेष्ठप्रति नै लक्षित थियो भन्ने थाहा छ, तर आफैँले दिएको अभिव्यक्ति कसका बारेमा थियो, त्यो ओली स्वयंलाई भने थाहा छैन ।

संसद्मा कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध आवाज उठाइरहँदा ओलीले ‘कांग्रेसजस्तो पार्टी रवि लामिछानेविरुद्ध खनिएको छ । के खनिनु । भँगेरा मार्न जानु तोप बोकेर’ भन्ने अभिव्यक्ति दिए । अब त्यो लामिछानेको पक्षमा थियो कि विरुद्धमा, त्यो ओलीलाई मात्र थाहा होला । तर, लामिछानेलाई भँगेराको संज्ञा दिएका ओलीको शब्द चयन भने सुहाउँदो नभएको नेताहरू बताउँछन् । मर्यादाक्रममा हेर्ने हो भने ओली र लामिछाने एउटै श्रेणीमा छन् । तर, ओलीमा त्यसको हेक्का भने देखिँदैन ।

काठमाडौँ महानगरका मेयर बालेनसँग पनि ओलीको दोहोरी चलिरहेकै छ । बालेनका विषयमा ओलीले दिएका अभिव्यक्ति पनि त्यति सुहाउँदा छैनन् । सुकुमबासी बस्ती हटाउने विषयदेखि सिंहदरबारको फोहोर रोक्ने र न्युरोडको फुटपाथ विस्तारसम्म बालेन र ओलीबीच दोहोरी चली नै रहेको छ । बालेन र ओलीको दोहोरीमा दुवै जनाको भाषाशैली भने मर्यादा स्तरभन्दा तल्लै तहको देखिन्छ ।

बालेनले आफ्नो सामाजिक सञ्जालमार्फत् पटक–पटक ओली लक्षित गर्दै अभिव्यक्ति दिइरहन्छन् भने ओली पनि त्यसको प्रत्युत्तरमा केही न केही बोलेकै हुन्छन् । ओलीका विषयमा बालेन सुरुदेखि नै नकारात्मक नै देखिएका छन् । अझ गिरिबन्धु टी स्टेट प्रकरणपछि त आफ्नो हरेक अभिव्यक्तिमा उनले ओलीलाई जोडेकै हुन्छन् । पछिल्लो पटक बालेनले सार्वजनिक गरेको अभिव्यक्तिमा त ओली पूर्वप्रधानमन्त्री हुन् र आफू एउटा महानगरको मेयर जस्तो गरिमामय पदमा छु भन्ने नै बिर्सिए ।

बालेनने ओलीप्रति कटाक्ष गर्दै केही दिनअघि भनेका थिए, ‘समयमै गिरिबन्धुका पीडितको बैना फिर्ता गर्नुहोला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिला पनि जेल बस्नुभएकै हो ।’ नेताहरूलाई गाली गर्ने जनमानसको कुनै कमी छैन । हरेक काण्ड र प्रकरण बाहिर आउँदा त्यसमा जोडिएका नेताहरूलाई जनताले आ–आफ्नो तरिकाले गाली गरिरहेकै हुन्छन् । यो कुनै नौलो विषय पनि होइन । तर, एउटा स्थानीय तहको प्रमुख जस्तो जिम्मेवार निकायमा रहेको व्यक्तिले देशको मर्यादित तहमा रहेको र त्यसमाथि पनि पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिलाई त्यो स्तरको भाषा प्रयोग गर्नुले बालेन आफैँले आफ्नो मर्यादा भुलेको देखियो ।

यस विषयमा शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले गिरिबन्धु टी इस्टेटबारे बालेनले गरेको टिप्पणीबारे ओलीलाई सोधेका थिए । जबाफमा ओलीले भने, ‘भैँसीलाई ढाडमा झिँगा बस्यो कि के बस्यो, त्यसले थाहा पनि पाएको हुँदैन । झिँगा दंग परेको हुन्छ, ४ लात हानेँ यसपल्ट भनेर ।’ यहाँ पनि ओलीले आफ्नो मर्यादा ख्याल गरेको देखिएन । बालेनलाई होच्याएर झिँगाको उपमा दिइरहँदा आफैँलाई भैँसीको उपमा दिएको भने उनले पत्तै पाएनन् ।

६ भदौ, २०७६ मा एउटा कार्यक्रमको प्रमुख अतिथि भएर पुगेका अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नै नेताहरूको स्तर गिर्दै गएको बताएका थिए । उनले पछिल्लो समय जसलाई जे मन लाग्यो, त्यही बोल्ने प्रवृत्ति बढेको स्वीकार गर्दै पहिले अनुशासित भएर सफल भएको, तर आजभोलि नेताहरूको स्तर गिरेकाले त्यसलाई लगाम लगाउनुपर्ने बताएका थिए ।

उनले भनेका थिए, ‘हामी हिजो निकै अनुशासित थियौँ र मात्रै यहाँ आइपुगेका हौँ । आजभोलि अनुशासनको स्तर गिरेर जसलाई जे मन लाग्यो, बोल्ने भएको छ । अहिले त जसलाई जे मन लाग्यो, बोल्ने, समूहको हितलाई बेवास्ता गर्ने । व्यक्तिगत निर्णयको जिम्मेवारी समूहले लिइदिनुपरेको छ । यसलाई सच्याउने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ ।’

नेताहरूको स्तर गिरेको छ, जसलाई जे मन लाग्यो, त्यही बोल्ने प्रवृत्ति बढेको छ, यसलाई सच्याउनुपर्छ भन्ने प्रचण्ड ५ महिना नबितदै आफूले दिएको यही अभिव्यक्तिको बर्खिलाप देखिए । १ माघ, २०७६ मा उनले सशस्त्र द्वन्द्वको विषय निकाल्दै आफू ५ हजारको हत्याको जिम्मा दिन तयार भएको बताएका थिए । पूर्वप्रधानमन्त्री र एउटा राष्ट्रिय पार्टीको नेतृत्व गर्ने व्यक्तिले जनताको मनमा ठेस पुग्ने गरी दिएको उक्त अभिव्यक्तिको निकै आलोचना पनि भयो । उनले भनेका थिए, ‘मलाई भन्ने गरिन्छ, १७ हजार मारेर आएको । साथीहरू यो सत्य होइन । सत्य के हो भन्न दिनुस् । हिजोका सामन्त राजाहरूले १२ हजार मारेका हुन् । मलाई ५ हजारको जिम्मा दिनुहुन्छ भने म लिन्छु ।’

मेरो ओहदा के हो र मैलै कहाँ के बोल्नुपर्छ भन्ने हेक्का मर्यादित तहमा रहेकाहरूले बिर्सिदिँदा उनीहरूकै अभिव्यक्ति विवादमा तानिने गरेको छ र त्यसले उनीहरूकै छविलाई पनि धुमिल पारिरहेको छ । यसको अर्को उदाहरण हुन्, धरानका मेयर हर्क साम्पाङ । स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव जितेर धरान उपमहानगरको नेतृत्व गरेका उनको देशभर खुबै चर्चा हुने गर्छ । उनको श्रममुखी व्यवहारलाई धेरैले पछ्याएका पनि छन् । तर, बोलाइको शैलीमा मर्यादा बिर्सिदिँदा उनको खुबै आलोचना पनि हुने गरेको छ । आफ्नै नगरबासीलाई ‘जाबो’, ‘नाथे’ जस्ता शब्दको प्रयोग गर्ने र साथीभाइको गफगाफमा प्रयोग हुने किसिमका शब्दलाई सार्वजनिक रूपमै आफ्नो अभिव्यक्तिका रूपमा सार्वजनिक गर्दा उनी धेरै पटक आलोचित भएका छन् ।

गत जेठ ६ गते प्रतिनिधिसभामा बोल्दा देशको गृहमन्त्री तथा उपप्रधानमन्त्री जस्तो गरिमामय पदमा रहेका रवि लामिछानेले कुनै हेक्का नै राखेनन् । उनले कांग्रेसका महामन्त्री गगन थापा लक्षित गर्दै कृषि अनुदानको रकम हिनामिना गरेकोदेखि देशको सूचना बेच्ने एजेन्टसम्मको आरोप लगाए । दोषीलाई कारबाही गर्ने निकायमा रहेका लामिछानेले संसद्मा आफ्नो मर्यादा नै भुलेर गालीगलौजमा उत्रिएका थिए ।

उनले भनेका थिए, ‘कृषि अनुदानको रकम हिनामिना गरेर कुखुरा, माछा, खसीबोका, बाख्रा पाल्नेलाई पनि बाहिर पठाऔँ । दुई तिनटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔँ, संसद्बाट हटाऔँ । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।’

उक्त विषयमा थापामाथि निकै पहिलेदेखि नै आरोप लाग्दै आएको हो । तर, त्यसमा अनुसन्धान गरेर कारबाही गर्ने हिम्मत कसैले गरेनन् । लामिछाने आफैँ उक्त तहमा पुग्दा पनि अनुसन्धान गरेर दोषी पत्ता लगाउनु र कारबाही गर्नुको सट्टा आफ्नो बचाउमा उल्टै औँला ठड्याउने मात्र काम गर्दा देशको गृहमन्त्री जस्तो व्यक्तिको उक्त स्तरको शैली शोभनीय देखिएन ।

नेता र नेतृत्व वर्गका पछिल्ला अभिव्यक्तिहरूले राजनीतिको मर्यादा नै गिरेको नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेल बताउँछन् । ‘सरकारमा रहेका जिम्मेवार व्यक्तिहरूले पनि गैरजिम्मेवार ढंगले अभिव्यक्ति दिने, आफूबाहेक अरूलाई खरबा देखेर गाली गर्ने, पुराना नेताले नयाँलाई हेप्ने, नयाँले पुराना नेताको सम्मान नगर्ने र उनीहरूको योगदानको कदर नगर्ने शृंखला पछिल्लो समय बढ्दै गएको छ,’ पौडेल भन्छन्, ‘यसले राजनीतिको मर्यादालाई नै घटाएको छ । यसलाई घटाउने काम पनि दलका नेतृत्वले नै गरेका छन् ।’ यो खबर सौर्यबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *