अख्तियार प्रमुखको गुनासो : भ्रष्टाचारीले विदेशमा लुकाएको सम्पत्ति ल्याउन सरकारले सहयोग गरेन
वैशाख २५, २०८२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा लुकाएको सम्पत्ति फिर्ता ल्याउन सरकारले सहयोग नगरेको गुनासो गर्नुभएको छ । राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले भ्रष्टाचारबाट आर्जन गरेर सिंगापुर, अमेरिका र युरोपमा लुकाइएको सम्पत्ति नेपाल ल्याउन दोस्रो पक्ष सहमत भए पनि सरकारले नचाहेको खुलासा गर्नुभयो । उहाँले भ्रष्टाचारबाट आर्जन गरेर विदेशमा राखिएको सम्पत्ति फिर्ता गर्न सांसदहरूलाई आग्रहसमेत गर्नुभयो । यस सम्बन्धमा काम गर्न सरकारले कार्यदल गठन गरे पनि द्रुत गतिमा काम नगरेको प्रमुख राईको गुनासो छ ।
अख्तियार अनुसन्धानमा राजनीतिक दबाब र प्रभाव नरहेको दाबी गर्दै उहाँले आफूले कार्यकाल सम्हालेपछि कुनै पनि शीर्ष नेतृत्वबाट मुद्दा चलाउनुरनचलाउनु भनी दबाब नआएको बताउनुभयो । भ्रष्टाचार र अनियमिततामा संलग्न ठूलो नेक्सस भएकाहरूमाथि अनुसन्धान गरिएको दाबी गर्दै राईले सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा कायापलट गरेको समेत बताउनुभयो । भ्रष्टाचारमा संलग्न कर्मचारीहरूले माथिल्लो तहको संलग्नताबारे मुख खोल्ने नगरेको कारण अनुसन्धान प्रभावित हुने गरेको समेत प्रमुख आयुक्त राईले बताउनुभयो ।
‘विगतमा के भयो थाहा छैन, मैले आफ्नो कार्यकाल सम्हालेपछि केही कुरामा विमति होला । कसैको केही प्रभाव परेको पनि होला । तर कुनैपनि राजनीतिक नेतृत्वबाट मुद्दा लैजानु र नलैजानु भनेर भनेको छैन । सुशासन कायम गर्नुपर्छ भनिरहेकै अवस्था हो,’ राईले भन्नुभयोे, ‘ठूला माछाहरूलाई लगेन भन्ने कुरा पाँच÷१० वर्षदेखि चलिनै राखेको छ । तर कस्तालाई ठूला माछा र कस्तालाई साना माछा भन्ने के रु हामीलाई त भ्रष्टाचार र अनियमिततामा ठूलो नेक्सस भएको मान्छे लग्यौँ जस्तो लाग्छ ।’
उहाँले थप्नुभयोे, ‘सूचना प्रविधिको क्षेत्रमा हुने भ्रष्टाचारमा त कायापलट नै गरिदियौँ । उपल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न हो । बलिको बोको त कर्मचारी मात्रै भयो नि । उपल्लो तहको मान्छेको लागि त बयान लिएको कर्मचारीले प्रमाणसहित भन्नुपर्यो नि । तर, उहाँहरू कोही नामसम्म लिन चाहनुहन्न । हामीले अहिले पनि सिंगापुर, अमेरिका र युरोपमा भएको पैसा ल्याउनसक्ने अवस्था छैन । यसमा तपाईंहरूले सहयोग गर्नुप¥यो,’ प्रमुख आयुक्त राईले खुलासा गर्नुभयोे, ‘सिंगापुरले त भ्रष्टाचार भएको पैसा पठाइदिन्छु भने पनि सरकारको तर्फबाट काम अगाडि बढेन । कार्यदल बनाए पनि काम भइरहेको छैन ।’ प्रमुख आयुक्त राईले भ्रष्टाचार अब देशभित्र मात्र सीमित नभई अन्तर्राष्ट्रियकरण भइसकेको समेत बताउनुभयो । भ्रष्टाचारमा संलग्न हुने गैरआवासीय नागरिकहरूको संख्या उल्लेख्य मात्रामा रहेको राईको दाबी छ ।
‘अख्तियारमा राजनीतिक हस्तक्षेप भयो’
बुधबार राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बोल्दै सांसदहरूले संविधानतः स्वतन्त्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका ठूला मुद्दाहरूमा प्रभावकारी काम गर्न नसकेको बताएका थिए । ठूला भ्रष्टाचारका मुद्दाहरूमा राजनीतिक हस्तक्षेपको कारणले गर्दा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको उनीहरूको भनाइ छ । समिति सभापति मायाप्रसाद शर्माले कर्मचारीमाथिको अनुसन्धानमा राजनीतिक हस्तक्षेप नभए पनि ठूला भ्रष्टाचारको मुद्दामा राजनीतिक हस्तक्षेप हुँदा अख्तियारले प्रभावकारी ढंगले काम गर्न नसकेको बताउनुभयो । उहाँले देश विकासको मुख्य वाधकको रूपमा रहेको भ्रष्टाचार, कुशासन, अनियमितता र ढिलासुस्तीका कारण जनताले खोजेको प्रतिफल राज्यले दिन नसकेको बताउनुभयो । सभापति शर्माले सबै निकायहरूले स्वतन्त्र र निष्पक्ष काम गरून् भन्ने जनताले चाहिरहेको बताउनुभयो ।
अख्तियारले मन्त्रालय र सरकारी संस्थाहरूलाई दिएको सुझावको अवस्था कस्तो छ रु भन्दै प्रश्नसमेत गर्नुभयो । नेपाली कांग्रेसका सांसद नारायणदत्त मिश्रले बार्गेनिङ गर्न पाइने भएकै कारण मानिसहरूको अख्तियारतर्फ रुचि बढ्दै गएको बताउनुभयो । उहाँले अहिले वडा अध्यक्षदेखि प्रधानमन्त्रीसम्म कोही चोखो नभएको भन्दै अख्तियारले प्रभाव छोड्न नसकेको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले अख्तियारलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने उपायको खोजी गर्नुपर्ने बताउनुभयो । उहाँले राजनीतिक प्रभाव र दबाबकै कारण आयोगले अपेक्षाकृत काम गर्न नसकेको बताउनुभयो । उहाँले अख्तियारले ऐलानी जग्गाहरूमा सरकार तथा सार्वजनिक भवन बनाउन नदिएपछि करोडौँ रुपैयाँको बजेट फ्रिज भइरहेको समेत बताउनुभयो । नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले किन अख्तियार औँला उठाउने ठाउँ बनेको छ रु भन्दै प्रश्न गर्नुभयो । उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरीको संख्या बढ्दो रहेको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभयो । यो खबर हिमालय टाइम्सबाट लिएका हौ ।

