आगामी दशकलाई सूचना प्रविधि दशकका रूपमा अगाडि बढाइने : मन्त्री गुरुङ
असार १०, २०८२ । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आगामी दशकलाई ‘सूचना प्रविधि दशक’का रूपमा अघि बढाउने सरकारको दीर्घकालीन योजना रहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा मन्त्रालयका विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सूचना प्रविधिलाई विकासको आधार स्तम्भ बनाइने बताए। मन्त्री गुरुङका अनुसार आर्थिक, सामाजिक रूपान्तरण तथा समृद्धिका लागि सूचना प्रविधिको अधिकतम उपयोग गर्दै युवालाई रोजगारी र स्वरोजगारीमा जोड्ने योजना बनाइएको छ।
उनले भने, “नवीनतम प्रविधिको अधिकतम उपयोग गरी सूचना प्रविधि क्षेत्रमा निजी क्षेत्रलाई आकर्षित गर्दै निर्यातयोग्य सूचना प्रविधि उद्योगको विकास गरिन्छ। यसै माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै समावेशी विकासमा योगदान पुग्नेछ।”
उनका अनुसार मन्त्रालयले सूचना प्रविधि, दूरसञ्चार, आमसञ्चार, हुलाक सेवा, चलचित्र र मुद्रण गरी छ वटा क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मन्त्रालय र मातहतका निकायहरूका लागि ७ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको जानकारी उनले दिए।
सो विनियोजनमध्ये ७५ प्रतिशत रकम अनिवार्य चालू खर्चका लागि छुट्याइएको छ भने बाँकी पूँजीगत खर्चतर्फ जानेछ।
मन्त्री गुरुङका अनुसार नेपाल सरकार तथा मन्त्रालय मातहतका संस्थाहरू—नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, राष्ट्रिय समाचार समिति (रासस), सार्वजनिक सेवा प्रसारण संस्था (रेडियो नेपाल, नेपाल टेलिभिजन), गोरखापत्र संस्थान र चलचित्र विकास बोर्डले आफ्नै स्रोत र सरकारी सहयोगमार्फत कार्यक्रम सञ्चालन गरिरहेका छन्।
उनले मन्त्रालयसँग सम्बन्धित योजनाहरूको कार्यान्वयन तथा सूचकको लक्ष्य प्राप्तिका लागि साउन महिनादेखि एकीकृत कार्ययोजना कार्यान्वयनमा ल्याइने र नियमित अनुगमन तथा मूल्याङ्कन गरिने बताए।
उनका अनुसार सुशासन, विद्युतीय शासन प्रवर्द्धन र सरकारी सेवा प्रवाहमा पारदर्शिता कायम गर्न प्रविधिको उपयोगलाई अझ प्रभावकारी बनाइनेछ।

