मधेशले दिएको योगदान अनुसार बजेटमा न्याय भएन : कांग्रेस नेता महर
असार १२, २०८२ । नेपाली कांग्रेसका महामन्त्री पदका उम्मेदवार तथा नेता नैनसिंह महरले संघीय बजेटले मधेश प्रदेशलाई उपेक्षा गरेको गुनासो गरेका छन् । उनले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान दिने मधेशलाई पटक–पटक विभेदमा पारिएको टिप्पणी गरेका हुन् ।
‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले विदेश पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ’, महरले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘तर जब बजेट विनियोजनको कुरा आउँछ, मधेशले सधैं विभेद र उपेक्षा भोगेको छ ।’
नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको भन्दै प्रमुख दलभित्रको आन्तरिक खिचातानीले नागरिकमा व्यवस्था प्रतिको विश्वास कमजोर बनाएको बताए । ‘धमिलो पानीमा माछा मार्नेहरू सक्रिय छन्, कोही व्यवस्था परिवर्तनको दिवा सपना देखिरहेका छन्’, उनले भने ।
सरकार र सत्ता गठबन्धनको औचित्यमाथि पनि प्रश्न उठाउँदै महरले संसदमा विधेयक अलपत्र पारेर विधायिकी प्रक्रिया नै ठप्प बनाइएको बताए । ‘संसदीय समितिले महिनौं लगाएर तयार पारेका विधेयकहरू सदनमै अड्केका छन्, सत्ता स्वार्थको खेलमा रमाएको गठबन्धनले देशलाई निकास दिन सक्नुपर्छ’, उनले जोड दिए ।
पार्टीका आन्तरिक अवस्थाबारे पनि खुलेर धारणा राख्दै महरले नीति महाधिवेशनका लागि बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक नभएको गुनासो गरे। ‘भ्रातृ र शुभेच्छुक संस्थाहरू निष्क्रिय छन्, विधान कार्यान्वयनमा नेतृत्व चुकेको छ’, उनले बताए ।
‘शासन राम्रो होस् भने पहिले दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो’, महरले भने, ‘अब १६ गते बस्ने केन्द्रीय समितिको बैठकले सबै विषयको समिक्षा गर्नेछ ।’
महरले मधेशका आधारभूत समस्या अझ विकराल बन्दै गएको बताए। चुरे दोहन, भूमिगत पानीको संकट, जलवायु परिवर्तनको असरजस्ता गम्भीर विषय सरकारको प्राथमिकतामा नपरेको आरोप पनि लगाए। ‘पहिले २०० फिटमा पानी भेटिन्थ्यो, अहिले ५०० फिट खन्दा पनि मुस्किलले आउँछ’, उनले भने ।
साथै, उनले मधेशमा महिला हिंसा, दाइजो प्रथा, दलित उत्पीडन, नागरिकता समस्या र उच्च विद्यालय ड्रपआउट दरजस्ता चुनौतीहरूलाई गम्भीर रूपमा लिएर कांग्रेस अगाडि बढ्न तयार रहेको बताएका छन् । ‘स्थानीय तहमा निर्वाचित महिलामध्ये सबैभन्दा बढी मधेशबाट हुनु यहाँको ऊर्जा हो’, महरले भने, ‘अब कांग्रेस यही ऊर्जा लिएर मधेशको नेतृत्व गर्न तयार छ ।’

