थाइल्याण्डकी ओपल सुचाता बनिन् ७२औं मिस वर्ल्ड
जेठ १८, २०८२ । भारतको हैदराबादमा सम्पन्न ७२औं मिस वर्ल्ड प्रतियोगिताको उपाधि थाइल्याण्डकी ओपल सुचाता चुआंगश्रीले जितेकी छन्। विश्वभरिका प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा विजयी हात पारिन्।
अन्तिम चरणमा पुग्दा एशिया, अफ्रिका, युरोप र अमेरिका-क्यारेबियन क्षेत्रका चार प्रतिस्पर्धीबीच कडा प्रतिस्पर्धा देखिएको थियो। थाइल्याण्ड, इथियोपिया, पोल्याण्ड र मार्टिनिकबाट आएका चार सुन्दरीमध्ये ओपलले उत्कृष्ट प्रस्तुति दिंदै निर्णायकहरूको मन जितिन्।
गत संस्करणकी विजेता क्रिस्टिनाले उनलाई ताज पहिर्याइदिएकी थिइन्। इथियोपियाकी सुन्दरी दोस्रो स्थानमा रहिन् भने पोल्याण्ड र मार्टिनिक तेस्रो र चौंथो स्थानमा क्रमशः रहे।
‘ब्युटी विथ अ पर्पस’ भनेर चिनिने सामाजिक उत्तरदायित्वमा आधारित विधामा इन्डोनेसियाले सफलताको झण्डा गाडेको छ। यो विधा प्रतियोगितामा विशेष मानिन्छ, जसले सौन्दर्यसँगै सामाजिक सेवा, मानवता र समर्पणको मूल्याङ्कन गर्छ।
प्रतियोगितामा नेपालबाट सृच्छा प्रधान सहभागी भएकी थिइन्। उनले अन्तिम ४० भित्र स्थान बनाउन नसके पनि विश्वस्तरको प्रतियोगितामा नेपालको पहिचान राख्न सफल भइन्। प्रतियोगितामा १०८ देशका सुन्दरीहरूले सहभागिता जनाएका थिए।
कोरोना महामारीको कठिन समयमा जनसेवामा अगाडि देखिएका बलिउड अभिनेता सोनु सुदलाई विशेष ‘हुमानिटरियन अवार्ड’ प्रदान गरिएको छ। उनी प्रतियोगिताका निर्णायक समेत थिए। यो अवार्ड भारतीय अभिनेता राणा दगुबातीले प्रदान गरेका थिए।
मूल रूपमा अन्तर्राष्ट्रिय सम्बन्ध अध्ययन गरिरहेकी ओपल भविष्यमा कूटनीतिमा प्रवेश गर्ने चाहना राख्छिन्। उनलाई मनोविज्ञान र मानवशास्त्रमा गहिरो रुचि छ। स्तन क्यान्सरसम्बन्धी संस्थाहरूसँग स्वयंसेवकका रूपमा आबद्ध भइसकेकी ओपल सामाजिक उत्तरदायित्वप्रति संवेदनशील देखिन्छिन्।
एक क्यान्सर जितेकी महिला समर्थकबाट प्रेरणा पाएकी उनले सो क्षणलाई आफ्नो जीवनकै गर्विलो अनुभव भनेकी छन्। उनले भनेकी छन्, “मेरो सबैभन्दा ठूलो डर नै आफ्ना सपना गुमाउनु हो भन्ने बुझेकी थिएँ।”
उनको व्यक्तिगत जीवन पनि विशेष छ। उनीसँग घरमा १६ वटा बिरालो र पाँच वटा कुकुर छन्। “तपाईंको कारण अर्को जीवनले सहजै सास फेर्न पाएको छ भने, त्यही नै सफलता हो”, भन्ने जीवन दर्शन ओपलले अँगालेकी छन्।
ओपलको जितले थाइल्याण्डलाई गौरव दिलाएको छ भने विश्वसामु युवा महिलाको क्षमता, संवेदना र आत्मबलको नयाँ परिचय पनि दिएको छ।

