कर आतंक विरुद्ध निर्णायक संघर्षको आवश्यकता : प्रभु साह
जेठ ३१, २०८२ । संघिय सांसद तथा आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष प्रभु साहले सरकारको कर नीतिले आम नागरिक र व्यवसायीहरू संकटमा परेकोले कर आतंक विरुद्ध निर्णायक संघर्षको तयारी थालेको बताउनु भएको छ । आज (शनिबार) काठमाडौँमा सम्पन्न मञ्चको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भने, “सरकार पिच्छे सरकारले करको नाममा जनतामाथि जुन अन्याय गरिरहेको छ, त्यो अब सहन सकिने स्थिति छैन । आम नागरिकको पेशा, व्यवसाय, पसल–कारखाना सबै धरापमा छन् । यसविरुद्ध देशव्यापी अभियान आवश्यक छ ।”
देवेन्द्र ठाकुरको अध्यक्षतामा बसेको बैठकले सरकारले करको नाममा सिर्जना गरेको आतंकले सम्पूर्ण व्यापार व्यवसायमात्र हैन, देशकै आर्थिक प्रणाली अस्थिर बनिरहेको ठहर गर्दै तत्काल प्रतिवादमा उत्रिने निर्णय गरेको हो ।
बैठकले संगठन निर्माण र विस्तारलाई समेत तीव्र बनाउने निर्णय गर्दै जनस्तरमा कर आतंकको विरुद्ध जनमत निर्माण गर्ने अभियान सञ्चालन गर्ने बताएको छ ।
अध्यक्ष साहले कर सम्बन्धी नीति निर्माणमा व्यवसायी, साना उद्यमी तथा प्रभावित वर्गहरूको प्रतिनिधित्व हुनुपर्ने आवश्यकता पनि औंल्याए । उनले जनताको करदाताको अधिकारमाथि सरकार आफैँले हस्तक्षेप गरिरहेको आरोप लगाए ।
बैठकमा देशका विभिन्न भागबाट आएका प्रतिनिधिहरूको सहभागिता थियो । मञ्चले आगामी दिनमा चरणबद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने तयारीसमेत गरि रहेको छ ।

