समाचार

रवि र छविको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज पनि सर्वोच्चमा सुनुवाइ

Sharing is caring!

जेठ ९, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा आज शुक्रबार पनि सर्वोच्च अदालतमा सुनुवाइ जारी रहने भएको छ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबारदेखि सुरु भएको सुनुवाइ प्रक्रिया निरन्तर चलिरहेको छ। लामिछानेसँगै सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व डिआईजी छविलाल जोशीको रिट निवेदन पनि सोही इजलासमा सुनुवाइ भइरहेको छ।

बिहीबारको सुनुवाइमा रवि र छविका तर्फबाट अधिवक्ताहरूले आफ्नो पक्ष राखेका थिए भने सरकारी वकिलले समेत बहस समाप्त गरिसकेका छन्। आज शुक्रबार जाहेरवालाको तर्फबाट बहस हुने छ, त्यसपछि जवाफी बहसको क्रम अघि बढ्नेछ।

लामिछाने र जोशी रूपन्देहीको भैरहवा कारागार कार्यालयमा थुनामा रहेका छन्। उनीहरूलाई बुटवलस्थित सुप्रिम सहकारीमा भएको ठगी प्रकरणमा संलग्न रहेको आरोप छ।

यसअघि जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर, उच्च अदालत बुटवलले सो आदेश उल्टाउँदै उनीलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। सो आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए, जुन अहिले जोशीको रिटसँगै सुनुवाइमा रहेको छ।

यो मुद्दाले सार्वजनिक र राजनीतिक तहमा व्यापक चासो र बहस उत्पन्न गरेको छ। आजको सुनुवाइपछि सर्वोच्चको प्रारम्भिक धारणा के देखिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *