सुमना श्रेष्ठको प्रश्न : आयोगमाथि आयोग थपेर मिटरब्याजी पीडितले कहिले पाउने न्याय ?
जेठ ६, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितको मुद्दामा सरकारले आयोगमाथि आयोग थपेर वास्तविक समाधान टार्ने काम मात्र गरेको आरोप लगाएकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै श्रेष्ठले यसअघिको आयोगलाई असहयोग गरेर निष्क्रिय बनाइएको र अहिले अर्को आयोग बनाउने नाममा केवल “काम चलाउ प्रतिवेदन” तयार गर्न खोजिएको बताइन् । “पीडितले न्याय खोजिरहेका छन्, तर सरकार आयोग थप्दै बस्छ,” उनले भनिन्, “आखिर पीडितले न्याय कहिले पाउने? पीडितलाई अझ पीडित बनाउने नियति किन दोहोरिन्छ ?”
उनले राज्यको यस्तो शैलीप्रति आक्रोश व्यक्त गर्दै प्रश्न गरिन्, “कति समयसम्म पीडित आन्दोलनमै राखिने ? आयोगमाथि आयोग थप्ने अनि पीडितको पीडा बेवास्ता गर्ने यो कुन प्रकारको नीति हो ?”
सांसद श्रेष्ठले मिटरब्याज प्रकरणमा उच्चस्तरीय राजनीतिक संलग्नताको आशंका पनि व्यक्त गरिन् । “कहीं गृहमन्त्री, मन्त्री, सांसद र नेताहरूको संलग्नता त छैन ?” भन्ने शंका नउठ्ने गरी निष्पक्ष छानबिन गर्न आग्रह गर्दै उनले मिटरब्याजी पीडितलाई शीघ्र न्याय दिनुपर्ने माग गरेकी छन् ।

