समाचार

काठमाडौँका सुकुम्बासीलाई लालपुर्जा दिन माग गर्दै आम जनता पार्टीले बुझायो ज्ञापनपत्र

Sharing is caring!

वैशाख १९, २०८२ । राजधानी काठमाडौँका विभिन्न स्थानमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूले अझै पनि जग्गाको स्वामित्व प्रमाणपत्र (लालपुर्जा) नपाएकोप्रति आम जनता पार्टीले गम्भीर ध्यानाकर्षण गराएको छ। शुक्रबार आम जनता पार्टीका नेताहरूले भूमि समस्या समाधान आयोग, टाहाचलमा पुगेर ज्ञापनपत्र बुझाउँदै काठमाडौँका सुकुम्बासीलाई चाँडो लालपुर्जा उपलब्ध गराउन माग गरेका हुन्।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, गरिब, दलित र भूमिहीनहरूले स्थानीय क्षेत्रमा सानो घेरामा आफ्नो जीविकोपार्जनको व्यवस्था गर्दै आएको अवस्थामा लालपुर्जाको अभावले उनीहरू आधारभूत सेवा—पानी, विजुली, बैङ्क ऋण, घर नक्सा, व्यापार अनुमतिजस्ता—पाउनबाट वञ्चित भएका छन्। यता भूमाफियाहरूले भने राजधानीका महत्वपूर्ण क्षेत्रको जग्गा रातारात आफ्नो नाममा दर्ता गराउँदै आइरहेका छन् भन्ने आरोप पार्टीले लगाएको छ।

पार्टीले भूमि अधिकारको सवाललाई गम्भीरताका साथ उठाउँदै सुकुम्बासीलाई न्याय र समानताको आधारमा अधिकार सुनिश्चित गर्न सरकारसँग जोडदार माग गरेको छ।

ज्ञापनपत्रमा उल्लेख छ, “हाम्रो जीवनयापनको जडानकै दीर्घकालीन समाधानका लागि जग्गाधनी लालपुर्जा उपलब्ध गराउनु सरकारको जिम्मेवारी हो।” पार्टीले भूमि आयोग र नेपाल सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेको छ।

ज्ञापनपत्र बुझाउनेमा पार्टीका केन्द्रीय सदस्य एवम् सुकुम्बासी संघर्ष समिति संयोजकहरू पनि सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *