अखवार

नेपालमा केही छैन भनेर अनावश्यक हल्ला फैलाउने काम भयो : अध्यक्ष ढकाल

Sharing is caring!


वैशाख ७, २०८२ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही पनि छैन, केही भएन भनेर अनावश्यक हल्ला फैलाउने काम हुने गरेको बताउनुभएको छ ।

कतारको राजधानी दोहामा बागलुङ सेवा समाज कतारको संरक्षकत्वमा बुहउद्देश्यीय अक्षयकोष स्थापनाका लागि आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले प्रचार गरे जस्तो खराब नभएर नेपालमा लगानीका पर्याप्त अवसर रहेको औँल्याउनु भएको हो । “नेपालमा सम्भावना नै छैन भन्ने र नकारात्मक रूपमा लिने गरिएको पाइन्छ । विदेशमा बसेर विदेशको विकास र प्रविधि देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ,” उहाँले भन्नुभयो, “यदि साच्चिकै विदेशमा गरे जस्तै मेहनत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन् ।”

उहाँले आफू बागलुङबाट आएर अहिले मुलुककै निजी क्षेत्रको छाता सङ्गठनको नेतृत्वमा पुगेको उदाहरण दिँदै मेहनत, लगनशीलता र इमानदारितासाथ काम गरेमा नेपालमा धेरै सम्भावना रहेका र सफल पनि भइन्छ भन्ने उदाहरण आफू पनि रहेको दाबी गर्नुभयो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीसमेतलाई लगानीका अवसर प्रदान गर्ने गरी १० अर्ब रुपियाँ बराबरको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरिएको जानकारी गराउँदै ढकालले त्यस कम्पनीमार्फत लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आग्रहसमेत गर्नुभयो ।

यस कम्पनीले मुलुकभित्र तथा मुलुकबाहिर रहेका नेपालीको छरिएर रहेको पुँजी सङ्कलन गरी जलविद्युत्, पर्यटन, उद्योग तथा विभिन्न सम्भावना भएका क्षेत्रमा लगानी गर्न गइरहेको जानकारी उहाँले गराउनुभयो । उहाँले सो कम्पनीमा सहभागिताका लागि कतारमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीलाई आग्रह गर्नुभयो ।

“गैरआवासीय नेपाली साथीमा नेपालमा लगानी गर्दा साझेदार छनोटमा समस्या पनि भएको हुन सक्छ,” उहाँले भन्नुभयो, “यस कम्पनीमा नेपालका उद्यमी व्यवसायी र एनआरएनएका साथीहरू पनि हुनुहुन्छ । यहाँहरूले ढुक्क भएर लगानी गर्दा राम्रो हुने छ ।”

यसैबिच अध्यक्ष ढकालले बागलुङबाट कतारमा आएका बागलुङवासीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना गरेको अक्षयकोषमा १५ लाख रुपियाँ सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष ढकाललाई सम्मानितसमेत गरिएको थियो । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *