बालेनको कडा सन्देश : सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम
जेठ ५, २०८२ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कडा टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा सिंहदरबारमा आयोजित बैठकमा सहभागी नभएको भन्दै बालेनले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका हुन् ।
सोमबार बिहान सिंहदरबारमा प्रधानमन्त्री ओलीले आयोजना गरेको बैठकमा बालेन उपस्थित थिएनन् । उक्त बैठकमा मेयर बालेन अनुपस्थित देखेपछि प्रधानमन्त्री ओलीले ‘फेरि नआए नाम काट्न’ भन्ने चेतावनी दिएको खबर सार्वजनिक भएको थियो ।
यही घटनापछि बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सरी, केपी ओली, म तपाईंको भ्रष्टाचार प्रणाली समर्थन गर्न सक्दिन ।”
उनले थप भनेका छन्, “जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टी मिलेर भ्रष्टाचार जोगाउँछु भन्छन्, त्यसको नाइकेको कार्यक्रममा म जानैपर्ने ?”
बालेनको यस्तो टिप्पणीलाई प्रत्यक्ष रूपमा प्रधानमन्त्री ओलीमाथि लक्षित तीव्र आलोचना र असहमतिको रूपमा हेरिएको छ । उनले आफू भ्रष्टाचारविरोधी अभियानमा अडिग रहेको र सत्ता संरचनाले जगेर्ना गर्न खोजिरहेको प्रणालीप्रति कुनैपनि किसिमको समर्थन नहुने प्रष्ट पारेका छन् ।
बालेन र प्रधानमन्त्री ओलीबीचको यो भनाभन पछिल्लो समय काठमाडौं महानगर र संघीय सरकारबीच देखिएको खटपटको निरन्तरता हो भन्ने विश्लेषण भइरहेको छ । राजधानीका विकास, योजना कार्यान्वयन, फोहोरमैला व्यवस्थापन लगायतका विषयमा बालेन पटक–पटक केन्द्र सरकारप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।


