Headlineसमाचार

जनकपुरमा ज्वाइँको छुरा प्रहारले ससुराको हत्या

Sharing is caring!

असार १७, २०८२ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहका काका बासुदेव साहको आज बिहान छुरा प्रहारबाट हत्या भएको छ।

धनुषाको जनकपुरधाम–१५ कुवारामपुरका ६५ वर्षीय बासुदेव प्रसाद विमलको आफ्नै घरमा हत्या भएको हो। प्रहरीका अनुसार घटनामा बासुदेवका ज्वाइँ बेचन महासेठ संलग्न रहेका छन्। जनकपुरधाम–२१ कुर्थाका ४८ वर्षीय बेचनले बिहान करिब पौने १० बजे बासुदेवमाथि पेटमा छुरा प्रहार गरेका थिए।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार घरायसी जग्गा विवादका कारण घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएका बासुदेवलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। तर, उपचार सुरू हुनु अघिनै साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि आरोपी बेचन फरार भएका छन्। प्रहरीका अनुसार घटनास्थलको मुचुल्का उठाई अनुसन्धान थालिएको छ। फरार अभियुक्तको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

स्थानीयस्तरमा समेत तनावको अवस्था सिर्जना भएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *