चार दलीय समाजवादी मोर्चा संकटमा
जेठ ६, २०८१ । ४ असार २०८० मा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा मिलेर समाजवादी मोर्चा बनेको थियो ।
निकै तामझामका साथ घोषणा भएको समाजवादी मोर्चाले सुरुमा आक्रामक रुपमा गतिविधि गरे । मोर्चाको संरचना जिल्ला तहसम्म बनाए । तर, पछिल्लो समय मोर्चा कतै गतिविध देखिनै छाडेको छ ।
समाजवादी मोर्चा बन्दा यी दल कांग्रेससँग सत्ता सहकार्यमा थिए । सत्तासमीकरण बदलिएर एमाले–माओवादीको नयाँ गठबन्धन बनेसँगै चार दलीय समाजवादी मोर्चा सुस्त भएको हो । एमाले समेतको सहभागितामा समाजवादी मोर्चा अगाडि बढाउन खोजिएको थियो । तर, एमालेले तत्काल यस्तो मोर्चाको आवश्यकता नरहेको बताएपछि यसका गतिविधि नै हुन छाडेका छन् । समाजवादी मोर्चाको अध्यक्षमा हाल नेत्रविक्रम चन्द विप्लव रहेका छन् ।
प्रधानमन्धी पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन समयमा सत्ता जोगाउन र कांग्रेससँगको बार्गेनिङ पावर बढाउनका लागि यो मोर्चाको निर्माण गरेका थिए । त्यतिबेला एमालेलाई यो मोर्चामा सहभागी गराउने कुरा थिएन ।
२०८० फागुन २१ मा एमालेसँग गठबन्धन गरेपछि मोर्चाको गतियविधि अगाडि बढ्न नसकेको हो । मोर्चामा एमालेलाई ल्याउन कोसिस पनि भएको थियो । तर एमालेले अहिले यो मोर्चामा सहभागी हुन आवश्यक नभएको र मोर्चा चलाउने काम आफ्नो नभएको बताएपछि पुरानै चार दल मात्रै कायम रहेका छन् ।
मोर्चा गठन भएको बेलामा रहेका चार दलमध्ये यतिबेला उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सत्ताबाट बाहिरिएको छ ।
नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्य सहित मोर्चा गठन गरेको नेताहरुले दाबी गरेका थिए ।
संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको उनीहरूको भनाइ थियो ।
सोही अनुसार समाजवादी मोर्चालाई व्यवस्थित गर्न भन्दै चार दलले कार्यविधि नै बनाएका थिए । जुन कार्यविधिमा ७७ वटै जिल्लामा मोर्चाको संगठन विस्तार गर्नुका साथै गत २०८० साउन १२ देखि २२ सम्म सातै प्रदेशमा मोर्चाले संयुक्त कार्यक्रम गरेर अघि बढेका थिए ।
चार दलका शीर्ष नेताले चार–चार महिनामा मोर्चाको नेतृत्व गर्ने कार्यविधिमा उल्लेख गरेका थिए । यसैगरी चार दलका एकाएक जना नेता रहेको चार सदस्यीय समाजवादी मोर्चाको सचिवालय गठन पनि भएको थियो ।
मोर्चामा आबद्ध दलसँगको समन्वयमा कामकारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन कार्यविधिमै सचिवालयको काम, कर्तव्य र अधिकारबारे ६ बुँदे व्यवस्था गरेका थिए ।
सचिवालयमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा छन् ।
नेताहरुका अनुसार मोर्चाको अर्को अध्यक्ष चयन गर्ने बेला भएको छ । तर मोर्चाको बैठक नै बस्न सकेको छैन । यो खबर मध्यान्हबाट लिएका हौ ।

