रास्वपाको तेस्रो स्थापना दिवसमा ६ बुँदे निर्णय, हस्ताक्षर अभियानलाई देशव्यापी लैजाने
असार ८, २०८२ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा))ले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा केन्द्रीय समितिको बैठक आयोजना गरी पार्टीको वर्तमान रणनीति र आगामी योजना सम्बन्धी ६ बुँदे निर्णय सार्वजनिक गरेको छ।
बैठकले देशको पछिल्लो राजनीतिक अवस्थामाथि गम्भीर समीक्षा गर्दै पार्टीको भूमिका अझ स्पष्ट बनाउने निर्णय गरेको हो। भिजिट भिसा प्रकरणदेखि संगठनात्मक पुनर्संरचना र पार्टी सभापति रवि लामिछानेविरुद्धको हस्ताक्षर अभियानसम्मका विषयमा बैठकले स्पष्ट धारणा बनाएको छ।
बैठकमा गरिएका निर्णयहरू यस्ता छन्:
१. भिजिट भिसा प्रकरणमा पार्टीले लिएको अडानलाई संसदीय दलमार्फत संसदमा दृढ रूपमा प्रस्तुत गरेकोप्रति आभार व्यक्त गर्दै संसदीय दललाई ‘लुटतन्त्र’को खारेजी र सुसंस्कृत राजनीतिको संवर्द्धनमा अडिग रहन निर्देशन दिने।
२. कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीद्वारा प्रस्तुत २०८२ जेठ १९ र असार ५ गते बसेका सचिवालय बैठकका निर्णयहरूलाई केन्द्रीय समितिबाट पूर्णतः अनुमोदन गर्ने।
३. पार्टी संगठनमा रिक्त र पुनः संयोजन आवश्यक पदहरूमा नयाँ मनोनयन गर्ने।
- प्रशिक्षण विभाग प्रमुखमा सह–महामन्त्री विपिनकुमार आचार्य
- अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा कार्यवाहक प्रवक्ता मनिष झा
- अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखमा उप–प्रमुख रवि किरण अधिकारी
४. उपसभापति डा. स्वर्णिम वाग्लेको प्रस्तावमा कविन्द्र बुर्लाकोटीलाई पार्टीको महामन्त्री र मनिष झालाई प्रवक्तामा नियुक्त गर्ने।
५. स्थापना दिवसको अवसरमा कार्यवाहक सभापति डोलप्रसाद अर्यालले पार्टी सभापति रवि लामिछानेको तर्फबाट पार्टीका सम्पूर्ण तह, समिति, सदस्य, शुभचिन्तक र आम नागरिकप्रति ऐक्यबद्धताको लागि आभार प्रकट गर्दै, चुनौतीपूर्ण अवस्थामा पनि साथ दिएकामा धन्यवाद व्यक्त गर्ने। साथै, पार्टीभित्र देखिएका आपसी गुनासाहरूलाई बिर्सेर एकतामा जोड दिँदै भविष्यमा अझ दृढ भएर अघि बढ्न आग्रह गर्ने।
६. रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा जारी हस्ताक्षर अभियानलाई देशव्यापी रूपमा लैजाने निर्णय। स्थापना दिवसकै दिनदेखि देशभर आयोजित कार्यक्रमहरूमा हस्ताक्षर अभियानलाई पनि सँगसँगै सञ्चालन गरिने।
पार्टी प्रवक्ता मनिष झाले देशभर संगठन विस्तार र जनतामाझ पार्टीको धारणा अझ मजबुत बनाउने क्रममा यी निर्णयहरू मार्गदर्शक हुने बताए। रासपाले राजनीतिक शुद्धता, जवाफदेहिता र जनमुखी नेतृत्वको पक्षमा आफ्नो यात्रालाई निरन्तरता दिने स्पष्ट संकेत दिएको छ।


