गायिका एलीना चौहान भन्छिन् : जीवनका कुनै निर्णयमा पछुतो छैन
वैशाख २९, २०८२ । लोकप्रिय गायिका एलीना चौहानले आफूले जीवनमा लिएको कुनै पनि निर्णयमा पछुतो नभएको बताएकी छन्। हालै एक अन्तरवार्ताका क्रममा उनले खुलेर आफ्नो जीवन, संघर्ष र परिवारप्रतिको आभार व्यक्त गरिन्।
उनले भनिन्, “जिन्दगीमा गरेको कुनै कुराको मलाई regret छैन। मैले जीवनमा जे चाहेको छु त्यो सबै कुरा पाएको छु।” गायन यात्रामा संघर्षपूर्ण सुरु भए पनि मेहनत र निरन्तरताले आफूले आजको स्थान पाएको चौहानले बताइन्।
एलीनाले आफ्ना आमाबुबाप्रति गहिरो कृतज्ञता पनि प्रकट गरेकी छन्। “आमाबुबाप्रति म धेरै नै अभारी छु र मेरो जस्तो बुबाआमा सबै छोरीलाई मिल्नु पर्छ,” उनले भनिन्। उनले सधैं पारिवारिक साथ र हौसलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरिन्।
एलिना चौहान नेपाली संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका हुन्। भावनात्मक अभिव्यक्तिसहितको उनको गायनशैली श्रोतामाझ निकै मन पराइन्छ। “धोकेबाज हौ तिमी”, “कट्टा हान्दिन्छु” र “यो भाग्यमा खोट छ” जस्ता गीतहरूबाट उनले व्यापक लोकप्रियता कमाएकी छन्। उनको संगीत यात्रा विशेषगरी युवापुस्तामा प्रभाव पार्ने खालको छ, जसले प्रेरणा र आत्मविश्वास दिन्छ।
उनको सो भनाइले युवा पुस्तालाई आत्मविश्वास, पारिवारिक स्नेह र नकारात्मक सोचबाट टाढा रहन प्रेरणा दिने विश्वास गरिएको छ।
संगीतप्रतिको समर्पण र आफ्नोपनले परिचित गायिका चौहानले पछिल्लो समय केही नयाँ गीतहरूमा काम गरिरहेकी छन् भने विभिन्न म्युजिक कन्सर्ट र कार्यक्रममा समेत सक्रिय रूपमा सहभागी हुँदै आएकी छन्।

