सिन्दुरको रङमा रङियो मध्यपुर थिमी
वैशाख २, २०८२ । भक्तपुरको मध्यपुर थिमिमा आज परम्परागत सिन्दुर जात्रा हर्षोल्लासका साथ मनाइएको छ। बिस्केट जात्राको अवसरमा विशेष रूपमा आयोजना गरिने यो जात्रा मध्यपुर थिमी क्षेत्रको सबैभन्दा ठूलो र महत्वपूर्ण सांस्कृतिक पर्व हो, जुन ‘सिन्दुर जात्रा’ का साथै स्थानीय रूपमा ‘सुथसिया जात्रा’ भनेर पनि चिनिन्छ।
जात्राको सुरुवात मूल देवतालाई विशेष खटमा राखी धिमे, काँया, भुस्या लगायतका परम्परागत नेवारी बाजागाजाको साथ गरिएको थियो। देवताको खट नगरका विभिन्न टोल, चोक र गल्लीहरूमा घुमाइन्छ, जहाँ घरका झ्याल, कौसी र छतबाट स्थानीयहरूले सिन्दुर छर्दै र फूल वर्षाउँदै देवताको स्वागत गर्ने परम्परा जिवित छ।
नेवारी सांस्कृतिक तालमा नाचगान, बाजागाजासँगै सिन्दुर दल्ने चलनका कारण यो जात्रालाई ‘सिन्दुर जात्रा’ भनिएको हो। समुदायबीच आपसी मेलमिलाप, उल्लास र सांस्कृतिक एकताको प्रतीकका रूपमा यो जात्राको विशेष महत्व रहँदै आएको छ।
परम्पराअनुसार जात्रामा थिमी क्षेत्रका ३२ वटा खट सहभागी हुने मान्यता भए पनि २०५६ सालदेखि देखिएको विवादका कारण नगदेश, बोडे र टिगनी क्षेत्रका खटहरू बालकुमारी मन्दिरको परिक्रमा गर्न नआएपछि हाल केही कम खटहरूको सहभागितामै जात्रा सम्पन्न हुँदै आएको छ।
यही दिन थिमीको बोडेमा अर्को विशेष सांस्कृतिक परम्परा—जिब्रो छेड्ने जात्रा पनि सम्पन्न भएको छ। सुजन बाग श्रेष्ठले यस वर्ष तेस्रो पटक जिब्रो छेड्दै परम्परालाई निरन्तरता दिएका छन्।
सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा दुबै मध्यपुर थिमीको सांस्कृतिक पहिचानमात्र नभई सम्पूर्ण नेवारी समुदायको गौरवपूर्ण परम्पराका रूपमा स्थापित भएका छन्। धार्मिक आस्था, सांस्कृतिक विविधता र सामाजिक एकताको सन्देश दिने यी जात्राहरूले वर्तमान पुस्तालाई आफ्नो मौलिकता र पहिचानप्रतिको गर्व सम्झाइरहेका छन्।

