मनोरञ्जन

शिवांश च्याप्टर १ को घोषणा : नयाँ नेपाली चलचित्रले देखाउनेछ सत्ता र संघर्षको युद्ध

Sharing is caring!

वैशाख १७, २०८२ । नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ। निर्माण पक्षले बुधबार फस्टलुक पोस्टर सार्वजनिक गर्दै चलचित्रको घोषणा गरेको हो।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गर्दै छन्। आत्रेयको यो डेब्यु निर्देशकीय प्रोजेक्ट हो। चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्, जो निर्माता पनि हुन्। पटकथा बारत लिम्बुले तयार गरेका छन् भने सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन्।

पोस्टरमा मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्। अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेको संकेत पाइन्छ। पोस्टरमा देखिएको सिंगो गाउँमा आगो लागेको दृश्यले चलचित्र शक्ति संघर्षमा आधारित रहेको अनुमान गर्न सकिन्छ। यद्यपि, कथावस्तुबारे निर्माण पक्षले विस्तृत जानकारी सार्वजनिक गरेको छैन।

चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन्। साथै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ।

सङ्गीतमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी रहेका छन्। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीकको नाम उल्लेख गरिएको छ। स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको आवाज सुन्न सकिनेछ।

द्वन्द्व निर्देशन मिलन श्रेष्ठले सम्हाल्नेछन् भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन्। छायांकन सरद महतोको हुनेछ। मुख्य सहायक निर्देशक बारत लिम्बु हुन् भने स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती रहेका छन्। कार्यकारी निर्माता सम्भू थापा हुन्।

भीएफएक्स निर्देशन र सुपरभिजन विराज खड्काले गर्नेछन् भने आदेश सुब्बा भीएफएक्स प्रोड्युसरको भूमिकामा रहनेछन्। कस्ट्युम डिजाइन कमल मिश्रले र मेकअप आर्टिस्टको रूपमा तुलसा लिम्बू रहनेछिन्।

पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका छन् भने आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन्। प्रोडक्सन म्यानेजर मिलन मानन्धर हुन्।

शिवांश: च्याप्टर १’ आगामी असोज २४ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ। चलचित्रको पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले गर्नेछ भने वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (DCN) ले लिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *