देशविजनेस

सामाजिक सञ्जाल कम्पनी मेटालाई नेपालमा दर्ता गर्न सात दिनको अल्टिमेटम, नत्र प्रतिबन्ध लगाइने सूचना मन्त्रीको चेतावनी

Sharing is caring!

वैशाख १३, २०८२ । नेपालमा कारोबार गर्दै ठुलो आर्थिक फाइदा उठाउँदै आएको सामाजिक सञ्जाल कम्पनी META अब कानुनी दायरामा आउनुपर्ने भएको छ। सूचना तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन कडा आग्रह गरेका छन्।

“नेपालमा व्यवसाय गरेर पैसा कमाउने तर दर्ता र कर नतिर्ने कुरा स्वीकार्य छैन,” मन्त्री गुरुङले भने, “सरकारले पटक–पटक मेटालाई दर्ता हुन आग्रह गरिसकेको छ। अब अन्तिम समय दिइएको छ — सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइन्छ।”

मेटाका अन्तर्गत फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपजस्ता सामाजिक सञ्जाल पर्दछन्, जुन नेपाली प्रयोगकर्तामाझ अत्यधिक लोकप्रिय छन्। मन्त्री गुरुङका अनुसार मेटाले नेपालबाट अरबौँ रुपैयाँ बराबरको आम्दानी गरिरहेको भए पनि यहाँको कर प्रणालीमा सहभागी नभएको अवस्था अब सह्य हुन नसक्ने बताइयो।

“हामीले यसअघि पनि चेतावनी दिएका थियौँ। अहिले पनि समय दिइरहेका छौं, तर अब चुप लागेर बस्न सक्दैनौं,” गुरुङको भनाइ थियो।

हाल नेपालमा टिकटक, भाइबर, वी–टकजस्ता एपहरू कानुनी रूपमा दर्ता भइसकेका छन्। अब मेटालाई पनि सोही प्रक्रिया अपनाउनुपर्ने सरकारको धारणा स्पष्ट छ। सरकारले डिजिटल प्लेटफर्महरूलाई कर प्रणालीमा ल्याउन निरन्तर पहल गर्दै आएको छ, जसले विदेशी कम्पनीहरूको अनियमित लाभप्राप्तिमा अंकुश लगाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *