Headlineसमाचार

प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप : पत्रकार महासंघको तीव्र आपत्ति

Sharing is caring!

जेठ २९, २०८२ । नेपाल पत्रकार महासंघले बिजमान्डु डटकम र नेपाल खबर डटकममा प्रकाशित समाचार हटाउने जिल्ला अदालत काठमाडौंको आदेश र वरिष्ठ पत्रकार दिलभूषण पाठकमाथि प्रहरीले जारी गरेको पक्राउ पुर्जीलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर हस्तक्षेपको रूपमा लिएको छ ।

महासंघले एक विज्ञप्ति जारी गर्दै दुईवटै घटनाले नेपालको संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर आघात पुगेको भन्दै तीव्र आपत्ति जनाएको छ । महासंघका अनुसार अदालत र प्रहरीको पछिल्लो कदमले पत्रकारिताको मूलधारलाई धमिलो बनाउने संकेत देखिएको छ ।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले अदालत र प्रहरीले पत्रकारलाई अपराधी करार गर्ने शैलीले लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रश्न उठाएको बताउनुभयो । उहाँले भन्नुभयो, “न्याय खोज्ने संवैधानिक निकायहरू हुँदाहुँदै सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा अदालतबाट समाचार हटाउने आदेश र प्रहरीबाट पत्रकार पक्राउको प्रयास हुनु दुर्भाग्यपूर्ण र खेदजनक हो ।”

शर्माले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने यस्ता प्रवृत्तिहरूले लोकतान्त्रिक समाजमा गम्भीर असर पार्ने चेतावनी दिँदै संवैधानिक निकायहरू जिम्मेवार बन्नुपर्ने बताउनुभयो । “यो प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रवृत्तिको संकेत हो,” उहाँले स्पष्ट पार्नुभयो ।

महासंघले प्रेस स्वतन्त्रता कायम राख्न सम्पूर्ण सरोकारवाला निकायहरूलाई सचेत रहन आग्रह गरेको छ । साथै, अदालत र प्रहरीबाट भएको पछिल्लो गतिविधिप्रति नागरिक समाज, मानव अधिकारकर्मी र अन्तर्राष्ट्रिय समुदायले चासो प्रकट गर्नुपर्ने महासंघले जनाएको छ ।

महासंघले प्रेस स्वतन्त्रतामा कुण्ठित हुने कुनै पनि कार्यलाई प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ । प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड भएको स्मरण गराउँदै महासंघले पत्रकारहरूमाथिको दबाब, डर र नियन्त्रणको प्रवृत्तिलाई तुरुन्त अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *