बुटवल पावर कम्पनीले न्यादीको ३१ लाख कित्ता सेयर बेच्ने
वैशाख २५, २०८२ । बुटवल पावर कम्पनी लिमिटेड (BPCL)ले न्यादी हाइड्रोपावर लिमिटेडको ३१ लाख कित्ता सेयर बेच्ने निर्णय गरेका छन् । सूचना विद्युत नियमन आयोगको निर्देशनअनुसार, ‘विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनका पूर्वस्वीकृति तथा नियमन सम्बन्धी निर्देशिका, २०७८’ को दफा ११ बमोजिम प्रकाशित गरिएको छ ।
तर, सूचना कानुनसम्मत भए पनि न्यादीको सञ्चालक समितिमा रहेका बुटवल पावरका प्रतिनिधिहरूको भूमिकालाई लिएर बजारमा गम्भीर प्रश्नहरू उठ्न थालेका छन्। के एउटै व्यक्ति दुई कम्पनीको बोर्डमा बसेर, एक कम्पनीले अर्को कम्पनीको सेयर बेच्न सक्ने निर्णय लिन मिल्छ? के यसमा हितको टकराव (conflict of interest) वा इनसाइडर ट्रेडिङको सम्भावना छैन?
बुटवल पावर र न्यादी – एउटै बोर्ड
न्यादी हाइड्रोपावरमा बुटवल पावरको स्वामित्व हाल ७१.६८ प्रतिशत रहेको छ, र न्यादीको बोर्डमा बुटवल पावरबाट पाँच जना प्रतिनिधिहरू रहेका छन् । एउटै व्यक्ति दुई कम्पनीका बोर्डमा बसेर एउटै सेयर कारोबारमा संलग्न हुनुले हितको टकराव मात्र होइन, इनसाइडर ट्रेडिङको गन्ध पनि दिन सक्छ ।
इनसाइडर ट्रेडिङको सम्भावना – सेबोनको निगरानीमा पर्न सक्ने निर्णय
धितोपत्र बोर्ड (SEBÓN) ले इनसाइडर ट्रेडिङसम्बन्धी नियमहरू कडाइका साथ लागू गर्दै आएको छ । जब एक सार्वजनिक कम्पनीले आफ्नो स्वामित्वमा रहेको अर्को कम्पनीको ठूलो संख्यामा सेयर बिक्री गर्छ, र दुवै कम्पनीमा एउटै व्यक्ति वा समूह निर्णय लिन्छन्, त्यस्तो अवस्थामा इनसाइडर जानकारी प्रयोग गरेर सेयर कारोबार भएको आशंका नियामकले स्वतः उठाउन सक्छ ।
यसबाहेक, बुटवल पावरको सेयर मूल्य सूचना सार्वजनिक भएको दिन नै ९.९९ प्रतिशतले वृद्धि भएर ५३४.१० रुपैयाँ पुग्नु संयोग मात्र हो? कि सूचना प्रकाशन र मूल्य वृद्धिबीच सघन सम्बन्ध छरु यसबारे प्रारम्भिक अध्ययन सेबोनले गर्न सक्छ ।
के बुटवल पावर न्यादीबाट बाहिरिँदैछ ?
यस्तो सेयर बिक्रीको अर्को सम्भावित पक्ष पनि छ – बुटवल पावरले न्यादीको रणनीतिक नियन्त्रणबाट हात झिक्ने तयारी गर्दैछ । यदि ३१ लाख कित्ता सेयर बिक्री गरिएमा बुटवल पावरको स्वामित्व बहुमतभन्दा तल झर्न सक्छ, जसले गर्दा बोर्डमा रहेको नियन्त्रण पनि गुम्न जान सक्छ ।
यदि यो रणनीति हो भने, कम्पनीले पारदर्शी ढंगले शेयरधनीलाई योजना, उद्देश्य, वा सम्भावित भागीदारबारे स्पष्ट पार्नुपर्ने हुन्छ। अन्यथा, यस्तो अस्पष्ट निर्णयले लगानीकर्ताको विश्वास गुमाउने जोखिम बोकेको छ ।

