सन्दीप लामिछानेले क्यानसँगको सम्झौता नवीकरण नगर्ने निर्णय
वैशाख ३१, २०८२ । नेपाली क्रिकेटर सन्दीप लामिछानेले अहिलेका लागि क्रिकेट संघ (CAN) सँगको केन्द्रिय सम्झौता जारी नराख्ने निर्णय गरेका छन्।
सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै उनले यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हट्न होइन, व्यक्तिगत तथा व्यावसायिक रूपमा रूपान्तरणको दिशातर्फको कदम भएको स्पष्ट पारेका छन्।
सन्दीपले भनेका छन्, “यो कुनै पनि हिसाबले क्रिकेट वा मेरो देशबाट टाढिने निर्णय होइन। यो मेरो व्यक्तिगत र व्यावसायिक विकासतर्फ अघि बढ्ने यात्रा हो।” साथै, उनले राष्ट्रिय टिमका लागि खेलिरहने प्रतिबद्धता जनाउँदै भनेका छन्, “नेपालका लागि खेल्ने गर्व र जिम्मेवारी मेरो मुटुसँग सधैं जोडिएको छ।”
नेपाल क्रिकेट संघप्रति आभार प्रकट गर्दै उनले लेखेका छन्, “CAN ले मेरो यात्रामा निरन्तर साथ र समर्थन दिएकोमा म सधैं कृतज्ञ छु। नेपाल क्रिकेट र मेरो विकासमा CAN को भूमिका महत्वपूर्ण रहँदै आएको छ।”
उनले थप लेखेका छन्, “जीवनको यात्रा फरक मोड लिँदैछ। अझ धेरै सिक्न, दिन र बन्ने अवसरहरू कुरिरहेको छु। क्रिकेटसँगै अन्य पाटोमा पनि केही नयाँ गर्ने अभिलाषा लिएर अघि बढिरहेको छु।”
सन्दीपले स्पष्ट पारेका छन् कि यस्तो निर्णय कहिलेकाहीँ टाढा हुन नभई उद्देश्य र परिवर्तनको भावना लिएर गरिन्छ। “कहिलेकाहीँ कुनै निर्णय छुट्टिने मनसायले होइन, उद्देश्य र रूपान्तरणको दिशाबाट गरिन्छ,” भन्ने उनको भनाइले उनी अझ बलियो रूपमा फर्कने संकेत गरेको छ।
उनको उक्त निर्णयले क्रिकेट समर्थक तथा शुभेच्छुकहरूबाट मिश्रित प्रतिक्रिया आएको छ। केहीले समर्थन जनाएका छन् भने केहीले जिज्ञासा व्यक्त गरेका छन्। तर सबैजना यसमा सहमत देखिन्छन् कि सन्दीप अझै पनि नेपाली क्रिकेटको अभिन्न हिस्सा हुन्।

