भिजिट भिसा प्रकरण : गृहमन्त्री लेखकलाई सत्तारुढ कांग्रेसको ‘क्लिन चिट’, प्रश्न उठाउनेलाई स्पष्टीकरणको माग
जेठ १३, २०८२ । भिजिट भिसामार्फत् मानव तस्करी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रमेश लेखकलाई जोगाउन सत्तारुढ नेपाली कांग्रेस संस्थागत रूपमै लागेको छ । भिजिट भिसाका नाममा विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तीर्थराज भट्टराईले लाखौँ रुपैयाँ असुली गर्ने गरेको र उनको गृहमन्त्री लेखकको सचिवालयका कर्मचारीहरूसँग नियमित सम्पर्क हुने गरेको देखिएपछि यस प्रकरणमा मन्त्रीसम्मै शंकाको सुई पुगेको थियो ।
पार्टीबाहिर मात्र होइन, पार्टीकै नेताहरूले समेत गृहमन्त्रीबाट राजीनामा माग गरिरहेको अवस्थामा सिंगो पार्टी नै उनलाई बचाउन क्रियाशील भएको हो । सोमबार सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता नभएको भन्दै उनले पदबाट राजीनामा दिनुनपर्ने निष्कर्ष निकालेको छ ।
बैठकपछि कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नभएकाले राजीनामा दिनुनपर्ने बताए । ‘गृहमन्त्री छानबिनको दायरामा हुनुहुन्न । उहाँमाथि कुनै उजुरी छैन । आधिकारिक निकायले तानेको पनि छैन । कुनै आधार छैन,’ उनले भने, ‘उहाँ निर्दोष हुनुहुन्छ, यस प्रकरणमा उहाँको संलग्नता नभएका कारण राजीनामा आवश्यक छैन ।’
पार्टीले भन्छ भने राजीनामा दिन तयार छु : लेखक
गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको, कर्मचारीको विषयलाई लिएर आफ्नो राजीनामा मागेर घटनालाई राजनीतीकरण गरिएको दुखेसो गरेका थिए । ‘के राजीनामा नै समस्याको समाधान हो त रु यदि हो भने मलाई पार्टीले निर्देशन देओस् म तयार छु,’ उनले भने, ‘संलग्नता देखिए जुनसुकै सजाय भोग्न तयार छु ।’
राजीनामा दिनुपर्दैन, शेखरसँग कुरा गर्छु : देउवा
लेखकको भनाइपछि सभापति देउवाले गृहमन्त्रीले राजीनामा दिनुपर्ने तहको ‘इस्यु’ नभएको बताउँदै कर्मचारीमाथि प्रश्न उठ्दा मन्त्रीले राजीनामा गरेर साध्य नहुने भन्दै गृहमन्त्री लेखकलाई ढाडस दिएका थिए । देउवाले डा. शेखर कोइरालासँग आफूले कुरा गर्ने र आवश्यक परे उनलाई आगामी पदाधिकारी बैठकमै बोलाउन पनि सकिने बताएका थिए ।
प्रश्न उठाउने नेताहरूलाई स्पष्टीकरण सोध्न माग
बैठकमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गर्ने नेताहरू शेखर कोइराला, राजेन्द्र बजगाईँ र डा. सुनिल शर्मालाई स्पष्टीकरण सोध्न नेताहरूले माग गरेका थिए । पूर्वमहामन्त्री डा। शशांक कोइरालाले गृहमन्त्री लेखकले अनुचित काम नगरेको अवस्थामा पनि लाञ्छना लगाउने काम भएको भन्दै ती ३ नेतालाई स्पष्टीकरण सोध्न माग गरेका हुन् ।
माओवादी केन्द्रले पनि माग्यो राजीनामा
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकको राजीनामा मागेको छ । सोमबार बसेको पदाधिकारी बैठकले उनले राजीनामा दिन ढिलो गरे राज्यको शाख गिर्ने निष्कर्ष निकालेको हो । प्रवक्ता अग्नि सापकोटाले निर्णय सुनाउँदै भने, ‘गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पहुँच र पावर प्रयोग हुन नपाओस् ।’ यो खबर सौर्य दैनिकबाट लिएका हौ ।

