देश

शिक्षक आन्दोलन : सांसदहरू आक्रोशित, विद्यालय फर्काउने वातावरण बनाउन सरकारलाई दबाब

Sharing is caring!

वैशाख १५, २०८२ । लामो समयदेखि जारी शिक्षक आन्दोलनले विद्यार्थीहरूको भविष्य अन्योलमा परेको भन्दै सांसदहरूले सरकारमाथि तीव्र असन्तोष पोखेका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले सरकारलाई तुरुन्तै समाधान खोज्न कडा आग्रह गरेका हुन्।

कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले आन्दोलनरत शिक्षकहरूमाथि दमन नगर्न चेतावनी दिए। उनले लोकतान्त्रिक संस्कार अनुसार शिक्षकका जायज माग सम्बोधन हुनुपर्ने बताए।

माओवादीकै उपमहासचिव जनार्दन शर्माले पछिल्ला तीन सरकारलाई समस्या निम्त्याएको जिम्मेवार ठहर गरे। “सम्झौता गरेर धोका दिने प्रवृत्तिले आजको अवस्था ल्याएको हो,” उनले भने।

एमाले सांसद सूर्य थापाले संयमता अपनाउन शिक्षकलाई सुझाव दिँदै सरकारले अघिल्ला सहमतिहरू कार्यान्वयन नगर्दा समस्या चुलिएको आरोप लगाए।

माओवादी केन्द्रका सांसद देवेन्द्र दाहालले शिक्षकहरू सम्मानयोग्य नागरिक भएको स्मरण गराउँदै सरकारले गरेको दमनको चर्को विरोध गरे।

राप्रपाकी सांसद रोशन कार्कीले शिक्षकमाथि दमन भएको भन्दै आक्रोश व्यक्त गरिन्। उनले विद्यालय फर्कने वातावरण बनाउन सरकारलाई तत्काल पहल गर्न माग गरिन्।

रास्वपाकी सांसद सुमना श्रेष्ठले सरकार अधिनायकवादतर्फ उन्मुख भएको संकेत गर्दै चिन्ता व्यक्त गरिन्। “सरकार बहुमतको दुरुपयोग गर्दैछ कि जस्तो देखिन्छ,” श्रेष्ठले टिप्पणी गरिन्।

सांसदहरूले शिक्षा ऐन निर्माणलाई तत्काल टुंग्याउन र शिक्षामन्त्रीले सदनमा स्पष्ट धारणा राख्न पनि जोडदार माग गरेका छन्।

शिक्षक आन्दोलनले विद्यालयहरू ठप्प भइरहेका बेला सरकार संवाद र समाधानतर्फ कहिले अघि बढ्ने हो, अब सबैको नजर त्यतै गएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *