Headlineअखवार

राजसंस्थावादी समूहको नयाँ रणनीति, सुवेदीको नेतृत्वप्रति असन्तुष्टि

Sharing is caring!


जेठ २२, २०८२ । राजसंस्था पुनःस्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समितिले आन्दोलनको नयाँ रणनीति तय गरेको छ । बुधबार संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठकले आन्दोलनलाई थप सशक्त बनाउँदै देशव्यापी आन्दोलन गरिने बताएको हो । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंदेखि देशका प्रमुख सहरहरूमा प्रदर्शन गर्ने निर्णय गरिएको छ । संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यकाका विभिन्न पालिकामा विरोध प्रदर्शनको निरन्तरता दिने, प्रमुख सहरहरूमा सभा, जुलुस, आन्दोलनलाई थप प्रभावकारी र उपस्थिति बढाउने उद्देश्यले स्थानीय तहसम्म समिति विस्तार गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, जिल्लास्तरमा पूर्वराजा समर्थक र राष्ट्रवादी युवाहरूको समूह निर्माण गर्ने र विभिन्न जिल्लामा आन्दोलनमूलक कार्यक्रम सञ्चालन गर्ने योजना सार्वजनिक गरिएको छ । ‘पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरूपमा केही परिमार्जन गरिनेछ । काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरूमा विरोध प्रदर्शनहरू निरन्तर जारी राखिनेछ । काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख सहरहरूमा विरोधसभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ । आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गरिनेछ । देशको विभिन्न जिल्लाहरूमा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गरिनेछ । देशका विभिन्न जिल्लाहरूमा आन्दोलनका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गरिनेछ ।’, विज्ञप्तिमा उल्लेख छ ।

सुवेदीको नेतृत्वप्रति असन्तुष्टि
राजसंस्था पुनःस्थापना र हिन्दूराष्ट्रको माग गर्दै दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागेका राजावादीको कार्यक्रम बिथोलिएको थियो । बुधबार संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीको संयोजकत्वमा बसेको बैठकमा सहभागीहरूले नेतृत्व परिवर्तनको माग गर्दैै नाराबाजी गरेपछि आन्दोलनका कार्यक्रम घोषणा नगरी स्थगित भएको थियो । बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएको अवस्थामा सुवेदीले आन्दोलनका नयाँ कार्यक्रम बुधबार नै घोषणा गरिने बताएपछि सहभागी नेता कार्यकर्ता असन्तुष्ट बनेका हुन् । त्यसपछि उनीहरूले नाराबाजी थालेका थिए ।

‘यो नेतृत्वले हुँदैन,’ बैठकमा सहभागी सदस्यले भने, ‘राजेन्द्र लिङ्देन हाम्रो पार्टीको अध्यक्ष हुनुहुन्छ । उहाँ नै चाहिन्छ ।’ बैठकमा होहल्ला भएपछि सुवेदीले बैठक स्थगित भएको घोषणा गर्नुभयो । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापा भने उपस्थित हुुनुहुन्थ्यो ।
भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन संसद् बैठकमा जानुभएको थियो । कार्यकर्ताहरूले भने यही संसद् चाहिने भए आन्दोलन केका लागि रु भन्दै असन्तुष्टि पोखे । अर्काथरि कार्यकर्ताले चाहिँ नवराज सुवेदीले आन्दोलनको नेतृत्व गर्न नसकेको भन्दै आक्रोश पोखेका थिए । कार्यक्रम भद्रगोल र अव्यवस्थित बनेको गुनासो पनि सुनिएको थियो । भेलामा पत्रकारलाई भित्र पस्न अनुमति दिइएको प्रति पनि कार्यकर्ताले विरोध जनाएका थिए ।

राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै राजावादीहरूले जेठ १५ गतेदेखि आन्दोलन सुरु गरेका थिए । एक साताका लागि तय भएको आन्दोलन सकिएपछि नयाँ कार्यक्रम घोषणा गर्न बैठक आयोजना गरिएको हो । बैठकमा राप्रपा, राप्रपा नेपाल र राष्ट्रिय शक्ति नेपाल पार्टीलाई बोलाइएको थियो । बैठकमा होहल्ला भएपछि सीमित नेताहरू बसेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो । यो खबर हिमालय टइम्सबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *